Thursday, May 16, 2024

एनएनएसडब्ल्यूएद्वारा ४८ जना अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण

प्रकाशित:

महेन्द्रनगर । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको छ ।

एनएनएसडब्ल्यूएले भीमदत्त नगरपालिकासँगको सहकार्यमा पालिका भित्रका विभिन्न वडामा रहेका ४८ जना शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरेको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक, स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशी, स्थानीय समन्वय समिति सदस्य उपेन्द्र बहादुर खडायत र एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरूलगायतको उपस्थितिमा एनएनएसडब्ल्यूएको केन्द्रीय कार्यालयबाट २२ थान ह्विलचियर, ७ थान एंकल फुट अर्थोसिस, ५ जोडा बैसाखी, ५ थान वाकर, १ थान रोलेटर, ४ थान ट्याउलेट चियर, १ थान सिटिङ्ग चियर, ३ थान एल्बो क्रच, ३ थान हेण्ड स्प्लिन्ट, ३ थान वाकिङ्ग स्टिक र १ थान घुणा मुनीको कृत्रिम खुट्टालगायतका सहायक सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेर उनीहरूको जीवनमा रूपान्तरण ल्याउने प्रयास गरिएको बताए ।

एनएनएसडब्ल्यूएका कृत्रिम अङ्ग प्रत्यारोपण विज्ञ कृष्ण राज भट्टले आइतबार र सोमबार गरी विभिन्न रूपमा अपाङ्गता भएका ४८ जना व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको बताए ।

उहाँले भीमदत्त नगरपालिका भित्र रहेका विभिन्न वडाहरूमा क्लस्टर छनौट गरी ४ स्थानमा नाप जाँच शिविर सञ्चालन गरिएको थियो।

सो शिविरमा अपाङ्गता भएका व्यक्तिहरूको नाप जाँच गरिएको थियो। सोको आधारमा हातखुट्टा साथै अन्य आवश्यक सामग्रीहरूको निर्माण गरी वितरण गरिएको कृत्रिम अङ्ग प्रत्यारोपण विज्ञ भट्टले बताए ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले शारीरिक पुनर्स्थापना केन्द्र परियोजनामार्फत सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाहरूमा अपाङ्गताको क्षेत्रमा काम गर्दै आएको छ।

परियोजना अन्तर्गत स्थानीय पालिकासँगको समन्वय तथा सहकार्यमा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्रीको साथसाथै आवश्यक सेवाहरू प्रदान गरिँदै आएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार