महेनद्रनगर । रोजगारीका लागि भारत गएका सुदूरपश्चिमेली विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै यति बेला घर फर्कन थालेका छन् । कञ्चनपुरको गड्डाचौकी भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न शहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमामा हेल्प डेस्कले गड्डाचौकीले जनाएको छ ।

हेल्प डेस्कका अनुसार भारतको हरियाणा, गुडिगाउ, हरिद्वार, काला पहाड, पंजाव, सिमला, बागेश्वर, देहरादुन, केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न शहरबाट यहि चैत्र २२ गते देखि २६ गते सम्म ५ दिनमा मात्र भारतबाट नेपाल फर्कने पुरूष, महिला र वालबालिकाको संख्या ५ सय ९६ रहेको गड्डाचौकि हेल्थ डेस्कका हेल्थ असिस्टेन्ट विशाल भट्टले बताउनु भयो । भारतबाट आउनेहरूको हेल्थ डेस्कमा कोरोना चेक, स्वास्थ्य सचेतना गर्नेको समेत उनले बताए ।

चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्याले बढ्न थालेको हो । अन्य देश जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायतका कारणले पनि धेरैजसो सुदूरपश्चिमेली रोजगारीका लागि भारत जाने गर्दछन् । लामो समयदेखि भारतको चेन्नेईमा रोजगार गर्दै आउनुभएका जोगी ओली र भागा अधिकारी विषु पर्व मनाउनकै लागि घर फर्केको बताउनुभयो ।

सुदूरपश्चिममा विशु पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् । विशेष गरेर रोजगारीका लागि बाहिर गएकाहरू घर फर्किएर परिवारजन संग हर्षोउल्लासका साथ विशु मनाउने गर्दछन् । विषेश गरी सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनाइन्छ । जसमा दार्चुला, अछाम,डोटी,डडेल्धुरा, बझाङ , बाजुरा र बैतडी गर्दछन् ।
यो पर्व बैशाख एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।
हरेक वर्ष विसु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन रहिआएको छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै गएको छ ।


