नेपालमा कसरी भयो रेडियोको सुरुवात?

प्रकाशित:

महेन्द्रनगर । २००७ साल चैत्र २० गतेबाट नेपालमा औपचारिक रूपमा सुरु भएको रेडियो प्रसारण आजसम्म आइपुग्दा थुप्रै आरोह अवरोह पार गरेको छ। निश्चित उद्देश्य बोकेर सञ्चालन गरिएको रेडियो प्रसारण विश्वभरि यति धेरै लोकप्रिय हुनुको प्रमुख कारण यसको सहजता नै हो । जुनसुकै अप्ठ्यारो परिस्थितिमा पनि यसलाई सञ्चालनमा ल्याउन सकिने भएकाले कुनै निश्चित उद्देश्य प्राप्तिका लागि यो सहज माध्यम बन्यो ।

नेपालमा राणा शासनको अन्त्यका लागि रेडियो प्रसारणको प्रयोग गरिए पनि यसको अन्त्यपछि मात्र यसले संस्थागतरूप लिएको थियो। पहिलो र दोस्रो विश्वयुद्धका साथै नेपालमा विभिन्न समयक्रमका शासन व्यवस्थामा यसको भरपुर प्रयोग गरिएको पाइन्छ। तत्कालीन माओवादी द्वन्द्वमा माओवादीले विभिन्न ठाँउमा एफ.एम. प्रसारणको प्रयोग गरेको थियो। पछिल्लो २०७२ बैशाखमा गएको भूकम्पमा पनि रेडियोले खेलेको भूमिका महत्त्वपूर्ण मानिएको छ।

विपदको अवस्थामा जिकको साहारा भनेकै रेडियो नेपाल नै हो भन्ने मान्यता स्थापित भएको छ। केही महिनाअघि चीनवाट सुरु भई विश्वव्यापी महामारीको रूप लिएको कोरोन भाइरस नियन्त्रण र रोकथाममा पनि रेडियोले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। खाली सूचना प्रवाहमात्र गर्नभन्दा पनि सचेतना फैलाउन रेडियोको भूमिका अहिले महत्त्वपूर्ण बनेको छ। वाहिरी वातावरणसँग घुलमिल हुदाँ संक्रमणको डर भएकाले प्रसारकहरुलाई क्वारेन्टाईनमै राखेर हाल रेडियो नेपालले सूचना, समाचारसँगै यस प्रतिको राष्ट्रिय जिम्मेवारीका रूपमा विभिन्न सचेतना मुलक सामाग्री प्रसारण गरेको छ।

गीत, नाटकलगायतका विधामार्फत् यस्ता सन्देशहरूलाई प्रभावकारी बनाई आम श्रोता समक्ष पुर्‍याएको छ। कोरोना भाइरसको प्रकोपको त्रासभन्दा पनि आम नागरिकलाई सूचना प्रवाह गर्ने अवस्थालाई सामान्यीकरण गर्दै विभिन्न माध्यमबाट नागरिकलाई यसप्रति सचेत बनाउदै ध्यान विकेन्द्रित गराउने प्रयास पनि गरेको छ। एफएम रेडियो माध्यमको भूमिका पनि यस अभियानमा सकारात्मक छ । हाल नेपालमा ७ सय ४० भन्दा धेरै संख्यामा एफएम रेडियो सञ्चालनमा रहेका छन् भने रेडियो प्रसारणको जननी रेडियो नेपालले मिडिमवेब र एफएम फ्रिक्वेन्सीमार्फत् प्रसारण गरिरहेको छ।

२०५४ सालपछि नेपालमा एफएम रेडियोको प्रसारण बाढीकै रूपमा आएको पाइन्छ। हाल ७७ जिल्लामध्ये प्रति जिल्ला सरदर ५ ओटा एफएम रेडियो प्रसारणमा रहेको अवस्था छ। तर, पछिल्लो समय यी एफएम रेडियोले आत्मनिर्भरतासँगै सामग्री अभावजस्ता समस्या भोगिरहेका छन्। इन्टरनेटको प्रयोगले सूचनाको मार्गलाई बहुउपयोगिता प्रदान गरिदिएको छ । इन्टरनेटमार्फत् सञ्चालन गरिने सामाजिक सञ्जालको बड्दो प्रयोगले त झन सबै सञ्चारका माध्यमहरूलाई एकै ठाउँमा ल्याई मिडियालाई कनभरजेन्स गरिदिएको छ।

इन्टरनेट तथा सामाजिक सञ्जालले प्रसारण माध्यमहरूको आफ्नो पहिचानलाई बिस्तारै मेट्दै लगेको छ। रेडियो अब सेटमा मात्रै सुन्नु पर्ने अवस्था छैन। अधिकांश रेडियोहरू इन्टरनेटमार्फत् सुन्न सकिने भएको छ, स्मार्ट फोनको बढ्दो प्रयोगले रेडियोलाई पनि स्मार्ट माध्यममा परिणत गरिदिएको छ। बढिरहेका सामाजिक सञ्जालका प्रयोगकर्ता माझ यसैमार्फत् रेडियोले समाचारलगायत सामग्री पस्किरहेका छन्। यतिमात्र होइन आवाजमा मात्र सिमित रहेको एफएम रेडियोहरूले अहिले भने भिडियो कन्टेन्टसमेत दिइरहेका छन्।

केहि महिनाअघि पंक्तिकारलाई चीन भ्रमणका बेला चिनियाँ अन्तराष्ट्रिय रेडियो सिआरआई भ्रमण गर्ने मौका मिलेको थियो। त्यस क्रममा सिआरआईका दक्षिण एसिया निर्देशकले दिएको जवाफले रेडियोको परिचय अब फेरिँदै गएको स्पष्ट हुन्छ। सिआरआईले अहिले के गर्दै छ भन्ने प्रश्नमा उनले नेपाल टेलिभिजनसँग मिलेर भिडियो उत्पादन गरिरहेको समेत बताए । यसवाट रेडियो अब बिस्तारै कन्भरजेन्स हुँदैछ भन्ने प्रष्ट गर्दछ । रेडियोका स्रोता के चाहन्छन् त्यही अनुरूप रेडियोको प्रयोगलाई पनि परिवर्तन गर्दै लगिएको छ। रेडियोलाई एउटा सानो युनिटका रूपमा राख्दै यसलाई इन्टरनेटमार्फत् भिडियो माध्यममा कन्भरजेन्स गर्दै लगिएका उदाहरण विश्वभर प्रसस्तै छन्।

नेपालमा पनि एफएम रेडियो सबैले इन्टरनेट र सामाजिक सञ्जालको प्रयोग गरेका छन् । इन्टरनेटमार्फत् मात्र सञ्चालन गरिएका रेडियोको संख्या पनि धेरै नै भइसकेको छ। आफनो सामाजिक सञ्जालमा छोटा खालका भिडियो सामग्रीहरू प्रसारण गर्दै अडियो, भिडियोसहित अक्षरमा पनि रेडियोहरूले कन्टेन्टहरू पस्किरहेका छन्। यसबाट भन्न सकिन्छ अब रेडियोले परम्परागत रेडियोको रूपमा मात्र सामग्री पस्किरहेका छैनन्, आफ्नो स्वरूप नै परिवर्तन गर्दै गएका छन्। रेडियो माध्यम सञ्चालन गर्न अव फ्रिक्विन्सी नै लिनु पर्ने अवस्था छैन । सामग्रीलाई व्यापकता दिन इन्टरनेटसँगै सामाजिक सञ्जालको प्रयोगले सहज भएको छ। सामग्रीको विश्वसनीयताका लागि मात्र माध्यमको परिचय चाहिएको छ। यसमार्फत् नै स्रोता र प्रयोगकर्ताले सामग्रीको विश्वसनीयता परीक्षण गर्न सक्नेछन्।

यही वस्तुस्थितिमा एफएम रेडियोलाई जीवन्तता दिने चुनौति यसका सञ्चालकमा छ। तर, नेपालजस्ता विकासोन्मुख राष्ट्रमा अझै केही समय यस्तै पुरानै प्रविधिको खाँचो छ। इन्टरनेटसँगै सामाजिक सञ्जालको उपयोग गर्न नसक्ने र नजान्नेहरूलाई सम्बोधन गर्न जरुरी छ। रेडियो सेट ट्युन गरेर दिनभरिका खबर र सूचना सुन्ने अनि यसैबाट मनोरञ्जन लिने संख्या उलेख्य रहेसम्म नेपालजस्ता देशहरुमा रेडियो प्रसारणलाई अकस्मात नयाँ रूप दिन कठीन भए पनि रेडियो माध्यमलाई बहुआयामिक बनाउन भने जरुरी भइसकेको छ। नेपालको सबैभन्दा पाको प्रसारण माध्यमले ६९ वर्ष पार गर्दै गर्दा आफ्ना प्रसारणमा बहुआयामिकता देखाउन जरुरी भइसकेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार