प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिन १० लाख घुस खाएका उपसचिवलाई एक वर्ष कैद

प्रकाशित:

काठमाडौँ । प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमतिपत्र दिन ६ लाख घुस लिएका उपसचिव प्रमोद नेपाल दोषी ठहर भएका छन् ।

विशेष अदालत काठमाडौँका न्यायधीशत्रय टेक नारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपाललाई दोषी ठहर गर्दै एक वर्ष कैदको फैसला सुनाएको छ ।

इजलासले उनलाई ६ लाख जरिवानासमेत हुने फैसला गरेको अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए ।

अर्का आरोपी बिबि एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले भने सफाई पाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव नेपाललाई २२ लाख ५० हजार रुपैयाँसहित होटल अरन्या परिसरबाट नियन्त्रणमा लिएको थियो ।

सेवाग्राहीलाई प्याराग्लाइडिङ सञ्चालनका लागि लाइसेन्स उपलब्ध गराइदिने भन्दै लिएको ६ लाख रुपैयाँ घुस रकमबाहेक अख्तियारको टोलीले स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ उनको गाडीबाट बरामद गरेको थियो ।

उपसचिव नेपालले आफू पदमा बहाल रहेको एयरवेजको इजाजत नवीकरण सम्बन्धित कार्य सम्पादन गरेकाले त्यसैको आधारमा श्रेष्ठसँग १६ लाख ५० हजार रुपैयाँ सापटी लिएको बताएपछि अख्तियारले उनलाईसमेत प्रतिवादी बनाउँदै गत वर्ष असोज २ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार