Saturday, July 27, 2024

भीमदत्त नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

प्रकाशित:

महेन्द्रनगर । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ आइतवार देखी भीमदत्त नगर स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थानिय कबड हलमा सुरु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको अध्यक्षता एवम् सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको प्रमुख आथित्यतामा प्रतियोगिताको उद्धघाटन गरिएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री भट्टले खेलकुदबाट राष्ट्रका लागि दक्ष र अनुशासित जनशक्ति उत्पादन हुने भएकाले खेलकुद महत्वपूर्ण भएको बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य,पूर्व मन्त्री प्रकाश रावलले प्रदेश सरकारले खेलकुद क्षेत्रका विभिन्न अवरोध हटाउँदै खेल र खेलाडीलाई व्यवस्थित रुपमा अघि बढाउने कार्य गरिएको उल्लेख गदै आफू मन्त्री हँुदा कबर्ड हल, व्यायाम शाला लगायतका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरेको बताए ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले महेन्द्रनगरमा खेल खेलेर डम्बर दत्त भट्ट लगायतले अन्तराष्ट्रिय जगतमा देशको नाम चिनाएको उल्लेख गर्दै सबै विद्यार्थीले खेलबाट देशलाई चिनाउने लक्ष्य लिएर अघि बढ्नु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशीले पछिल्लो समय युवाहरु लागु औषध दुव्र्यसनीमा फस्दै गएको बताउदैँ त्यसको न्यूनिकरणका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने बताइन् ।

उद्धघाटन समारोह समापन गर्दै भीमदत्त नगरपालिकाका नगरप्रमुख बोगटीले नगर क्षेत्रको खेलकुद व्यवस्थित र विकास गर्नका लागि सरकारी तथा गैर सरकारी क्षेत्रसित सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्दै अहिलेका विद्यार्थी एवम् खेलाडीहरु भोली देशको भविष्य रहेकोले उनिहरुको शैक्षिक एवम् खेलकुद लगाएत समग्र विकासका लागि हामी सबैले लाग्नुपर्ने बताए ।

४ दिन सम्म संञ्चालन हुने प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ४८ विद्यालयको सहभागीता रहेको छ । उद्धघाटन कार्यक्रममा विद्यार्थीहरुले मार्चपास र विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

उद्धघाटन समारोहमा सम्पन्न भएको मार्चपासमा भीमदत्त नगरपालिका–७ हल्दुखालको महाकाली जनसेवा माध्यमिक विद्यालय प्रथम, होली फेमली इङ्गशिल मिडियम स्कुल तिल्केनी द्वितीय र वेष्टर्न पब्लिक एकेडेमी तेस्रो भएको आयोजकले जनाएको छ । सेना, प्रहरी र सशस्त्र प्रहरीको चार सदस्यीय टीमले मार्च पासको मूल्याङ्कन गरेको थियो ।

मार्चपासमा छनौट विद्यालयलाई समापनमा नगद सहित पुरस्कार वितरण गरिने नगर खेलकुद समितिका अध्यक्ष शरद चन्दले बताए । उनकाअनुसार प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ५४ कास्य पदका लागि विद्यालयहरुले विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताबाट जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि खेलाडी छनौट हुने छन् । गत वर्ष भीमदत्तले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड जितेको थियो । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टसका खेलहरु हुने चन्दले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार