Saturday, July 27, 2024

खण्डर बन्यो महेन्द्रनगरको ‘ह्वाइट हाउस’ : बेथितले छोडेको २० वर्षसम्म पाएन माली !

प्रकाशित:

ईशु नेगी । 
महेन्द्रनगर । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारको केन्द्रमा अवस्थित एक सरकारी भवन २० वर्ष देखि खण्डर बनेको छ । महेन्द्रनगरमा नेपाल टेलिकमको भवन अगाडीपट्टी रहेको पुरानो छात्रबास भवन (ह्वाइट हाउस) निकै जीर्ण(खण्डर) अवस्थामा पुगेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

महेन्द्रनगर बजारको सौन्दर्यमा समेत उक्त ह्वाइट हाउस घुरान बनेको छ । बजारको सौन्दर्यतामा झट्ट हेर्दा ‘भुत बङ्गला’ जस्तो अनुभूति दिलाउने उक्त ह्वाइट हाउस २० वर्षदेखि माली खोजिरहेको छ ।

महेन्द्रनगरका सबैभन्दा पुराना मध्येको एक भवन रहेको जानकारहरु बताउछन् । जानकारहरुका अनुसार ०२७/२८ साल तिर बनेको उक्त भवन सिद्धनाथ बहुमुखी क्याम्पसका विद्यार्थीहरुको छात्रबास हो ।

विभिन्न समयाधिमा मर्मत सम्भार गर्दै फरक–फरक प्रयोजनका लागि प्रयोग भएको उक्त भवन, पछिल्लो समय अञ्चलाधिस महेन्द्रमान बेथितले झण्डै डेढ–दुई वर्ष प्रयोग गरेका थिए । लगभग ०६१ तिर महेन्द्रमान बेथितलाई जिल्लाबाट लखेटिए देखि उक्त भवनले संरक्षण र सम्बर्द्धन गर्ने माली भेटेको छैन् ।

उक्त छात्रबास भवनलाई महेन्द्रमान बेथितले नै ‘ह्वाइट हाउस’ नाम दिएका हुन् । तत्कालिन जिल्ला विकास समितिको मातहतमा रहेको उक्त ‘ह्वाइट हाउस’ मर्मत सम्भार एवं पुनः निर्माणका लागि कुनै पहल कदमी भएको स्थानीय भान गरेका छैनन् ।

उक्त भवन भत्काएर नयाँ निर्माणका लागि काम थाल्दा थुप्रै सरकारी एवं कानूनी अड्चन रहेको जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले बताए । उक्त भवनका सन्दर्भमा पटक–पटक जिल्ला सभामा समेत कुरा राखिएको उनी बताउछन् ।

निवर्तमान जिसस प्रमुख फैरु तामाङ्गको समयमा उक्त भवन भत्काएर नयाँ निर्माण गर्नका लागि डीपीआर समेत तयार पारिएको थियो । तर उक्त डीपीआर सहरी विकास मन्त्रालयबाट स्वीकृत भएको छैन् ।

उक्त भवन पुनः निर्माण गर्न नमिल्ने अवस्थामा पुगिसकेको जिसस प्रमुख बोहराले बताए । भवन भत्काउनका लागि पनि सहज नभएको उनको तर्क छ । ‘भत्काउदा, भोली कसैले राम्रै भवन भत्कायो भनेर अख्तियारमा गयो भने के हुँने ? त्यसका लागि मैले भीमदत्त, सहरी विकास र समन्वयका तीनै जना प्राविधिक राखेर अनुगमन गराए, सबैले यो भवन काम लाग्दैन भत्काउनै पर्छ भन्छन्, तर प्रतिवेदन दिन मान्दैनन् ।’ समन्वय प्रमुख बोहराले भने,‘फैरु जीको पालामा बनेको डीपीआर स्वीकृत नभएपछि अब नयाँ डीपीआर बनाएर आउदो आर्थिक वर्षमा सहरी विकास मन्त्रालयबाट बजेट आएपछि नयाँ भवन बनाउछौं ।’

२० वर्षदेखि खण्डर बनेको उक्त भवन महेन्द्रनगर बजारको सन्दर्यतामा समेत घुरान बनेको छ । समयमै ह्वाइट हाउसले असल माली पाएको भए खण्डर खण्डर हुने थिएन ।

केहि दिन देखि सामाजिक सञ्जाल फेसबुकमा समेत उक्त ह्वाइट हाउसका तस्वीरहरु सेयर गर्दै स्थानीयले सम्बन्धित निकायबाट जवाफ खोजिरहेका छन् । स्थानीय सरकार र जिल्ला समन्वयले बजारकै केन्द्रमा रहेको सरकारी भवनको संरक्षण गर्न नसक्नुलाई औल्याउदै प्रश्न गर्न थालेका छन् ।

महेन्द्रनगरमा संरक्षण तथा सम्बद्धनको अभावमा थुप्रै सरकारी संरचनाहरु जीर्ण बन्ने अवस्थामा छन् । पुरानाको मर्मत सम्भार भन्दापनि नयाँ मात्रै थप्ने प्रवृति आर्कषित हुँदै गएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार