महेन्द्रनगर । कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा सशस्त्र प्रहरीले निर्घात कुटपिट गर्दा एक जना गम्भीर घाइते भएका छन् । बनबासाबाट घरका लागि समान ल्याउदै गरेका एकजना नेपालीलाई नेपाल भारत सीमा क्षेत्र ७ नं. पिलर नजिक सशस्त्र प्रहरीका वरिष्ठ हवल्दारले निर्घात कुटपिट गर्दा गम्भीर घाइते भएका छन् ।
बिहिबार साँझ साढे ६ बजे तिर बीओपी गड्डाचौकीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार कर्ण बहादुर बोहराले बेदकोट–१ हात्तिथालाका बसन्त बहादुरधामीलाई निर्घात कुटपिट गर्दा घाइते भएका हुन् ।
भारतीय छिमेकी बजार बनबासाबाट घरका लागि समान ल्याउनेक्रममा ७ नं. पिलर नजिकै सिभिल पोसाकमा रहेका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले धामीलाई जथाभावी गाली गलौच सहित टाउकोमा टर्च लाइटले हिर्काउदा गम्भीर घाइते भएका छन् ।
घाइते धामीको महाकाली प्रादेशिक अस्तालमा उपचार भइरहेको छ । धामीको टाउको दुई ठाउँमा फुटेको छ भने, उनको टाउकोमा १० ‘टाका’ लागेको महाकाली अस्पताल स्रोतले बताएको छ ।
घाइते धामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बोहराले ज्यान मार्ने उद्श्यले कुटपिट गरेको भन्दै कारबाहीका लागि निवेदन दिएका छन् ।