Monday, April 22, 2024

माघी पर्वः थारु बस्तीमा नयाँ वर्ष

प्रकाशित:

धनगढी । माघको आगमनसँगै आदिवासी थारु समुदायमा नयाँ वर्ष सुरु भएको छ । थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले माघ १ गतेबाट थारु संवत् २६४७ को सुरुवात भएको बताएका हुन् ।

यसैबिच थारु समुदायमा माघ (माघी)को उल्लास छाएको छ । पुस २९ गतेदेखि पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहित देशभर माघको उल्लास छाएको हो । त्यस्तै, आम नेपालीले धूमधामसँग माघे सङ्क्रान्ति तथा मकरसङ्क्रान्ति आ–आफ्नै रीति संस्कृति अनुसार मनाइरहेका छन् ।

पर्व मनाउन टाढा–टाढा बसेकाहरूको गाउँघरमा जमघट भएको छ । चेलीबेटीहरू माइती घर पुगेका छन् । यसैबिच गाउँको नेतृत्वकर्ता अर्थात् बरघर, भल्मन्सा, देशबन्धिया, गुरुवा, भर्रालगायत चयन माघ महिनामै चयन हुने हुँदा नेतृत्व चयनको बहस पनि सुरु भएको छ । ठाउँ–ठाउँमा माघी मेला, माघी मिलन, महोत्सवको आयोजनाले माघको रौनक थप बढेको छ ।

यतिमात्रै नभई थारुवस्तीमा माघौटा नाच, सखिया नाच, झुमरा नाच, लाठी नाच, ढमारलगायत लोक गीतसँगै डफ र मादलको आवाजले गाउँघर गुञ्जायमान बनेको छ ।

पुस २९ गते नै थारु बस्तीहरूमा सामूहिक रूपमा बङ्गुर काटिएका थिए । मासुको परिकारको अलावा ढिकरी, खेरिया, सिद्रा, फुलौरी, आचार, सिन्की (गुन्द्रुक)लगायत विभिन्न परिकारहरू बनाएर खाने खुवाउने गरिएको छ ।

आज माघ १ गते नजिकैको नदी, तलाउ, पोखरी, दहमा नुहाउने र आ–आफ्नो आफन्त, इष्टमित्रहरूलाई भेटघाट गर्ने, ठुलाबाट अशीर्वाद लिने र सानालाई अशीर्वाद दिने प्रचलन रहिआएको छ । यो दिन पनि आफ्नो घरमा रहेका ढिकरी लगायतका पकवान खाने र खुवाउने चलन रहेको पनि थारुको भनाइ छ ।

मकर सङ्क्रान्तिका दिन नुहाउनले वर्षभरि गरेको पाप वा नराम्रो काम, कुकर्म, वैमनष्यता पखालेर जाने र पुण्य प्राप्त हुने धार्मिक जनविश्वास रहेको छ । यो दिन पशुपक्षी वध हुँदैन । यही दिनलाई नै थारु समुदायले नयाँ वर्ष मान्ने गरेका हुन् ।

माघको तेस्रो दिन ९माघ २ गतै० लाई खिच्रहवा भन्ने गरिएको छ । यही दिनदेखि माघी देवानी तथा खोजनी बोजनी हुने थारु बुद्धिजीवीहरू बताउँछन् । थारु नागरिक समाज कैलाली संयोजक चौधरीका अनुसार माघ पर्वको तेस्रो दिनदेखि गाउँ–गाउँमा नयाँ नेतृत्वकर्ता एवं भल्मन्सा, बरघर, देशबन्धिया, अघरिया, भर्रालगायत चयन गर्ने या अनुमोदन गर्ने गरिन्छ । यसरी नेतृत्व छान्ने कार्यलाई ‘माघी देवानी’ भन्ने गरिएको छ । यस्तो प्रचलन दाङदेखि कञ्चनपुर जिल्लामा रहेको छ ।

एउटा परिवारका सबै सदस्यहरू एकजुट भई उपरान्त पारिवारिक गतिविधि कसरी अगाडि बढाउने भन्नेबारे पनि छलफल हुने गर्दछ । यसलाई ‘खोजनीबोजनी’ पनि भन्ने गरिएको छ ।

‘खोजनीबोजनीमा अघिल्लो वर्ष परिवारले गरेको गतिविधि, आर्थिक हरहिसाबबारे छलफल हुने गर्दछ’, संयोजक चौधरीले भने–‘छलफलबाट अगामी दिनका लागि परिवारको योजना तर्जुमा हुने गरेको छ ।’ (रातोपाटीबाट)

ताजा समाचार

सम्बन्धित समाचार