Saturday, July 27, 2024

कैलाली-कञ्चनपुरका २२ पालिकाले सञ्चालनमा ल्याए ‘आसरा’ सुधार केन्द्र

प्रकाशित:

धनगढी । कैलाली र कञ्चनपुरका २२ स्थानीय तहले धनगढी उपमहानगरपालिका १४ फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालनमा ल्याएका छन् । लागु औषध दुर्व्यसनीलाई राख्न आसरा सुधार केन्द्र सञ्चालनमा ल्याइएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाल प्रहरी, श्रीमती सङ्घको निगरानीमा रहेको आसरा सुधार केन्द्र बुधवार एक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ । केन्द्रलाई धनगढी उपमहानगरपालिकाले भवन, फर्निचर, जेनरेटर तथा कार्पेटसहितका सामाग्री सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक भौतिक सामाग्री सहयोग गरेको बताए । उनले दुर्व्यसनीमा परेका परिवारका सदस्यका कारण घर परिवार तहसनहस भइरहेको भन्दै सुधार केन्द्र सञ्चालनमा सहयोग गरेको बताए ।

सुधार केन्द्र सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले १० लाख, अन्य नगरपालिकाहरूले पाँचरपाँच लाख तथा गाउँपालिकाहरूले तीनरतीन लाखका दरले सहयोग गर्ने सम्झौता प्रहरी श्रीमती सङ्घसँग गरेका छन् ।

यसैबिच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले २० वर्षका लागि धनगढी उपमहानगरसँग सम्झौता भए पनि प्रहरीले लामो समयसम्म आसरा सुधार केन्द्र फूलवारी सञ्चालन गर्ने बताए ।

उनले भने, ‘सुधार केन्द्रलाई दिगो रूपमा सञ्चालन गर्नेछौ । रानीबारी, काठमाडौँ, धरान र धनगढीको फूलबारीमा हामीले आसरा सञ्चालन गरेका छौँ । कुलत दुर्व्यसनीमा परेकाहरूलाई असल नागरिक बनाउनेछौँ । स्थापना कालदेखि सामाजिक रूपान्तरणको काम गर्दै आएका छौ ।’

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लागु औषधले भविष्यका ढोकाहरू बन्द गर्ने गरेको बताए । उनले भने, ‘हाम्रा धेरै युवाहरू विदेशमा छन् । स्वदेशमा रहेकाहरू दुर्व्यसनीमा छन् । खुला सिमानाका कारण समस्या छ । बाजुरा, बैतडीसहितका पहाडी जिल्लाहरूमा पनि जालो फैलिएको छ । आपूर्ति रोक्न खुला सिमानाका कारण समस्या भएको छ ।’

आसरा सुधार केन्द्रमा २ सय जना दुर्व्यसनीहरूलाई राख्न सकिने व्यवस्था छ । जसमा उनीहरूलाई बिरामीको शैलीमा उपचार गरिने पनि जनाइएको छ । प्रहरीले एम्बुलेन्ससहितको उपचार सेवा समेत उपलब्ध गराउने छ ।

ताजा समाचार

सम्बन्धित समाचार