Saturday, July 27, 2024

यौन दुर्व्यवहारको घटना मिलाउन खोज्दा किशोरीद्वारा आत्महत्या प्रयास

प्रकाशित:

अछाम । आफूमाथि भएको यौन दुर्व्यवहारको घटनामा कानुनी उपचारको बाटो छेकेपछि दुर्गम तुर्माखाँद गाउँपालिका–५ की १६ वर्षीया किशोरीले आत्महत्या प्रयास गरेकी छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यौन दुर्व्यवहारको घटनामा गाउँमै मिलाउन दबाब दिएपछि अन्याय भएको महसुस गर्दै ती किशोरीले गोठमा झुण्डिएर आत्महत्याको प्रयास गरेकी हुन् ।

पुस ७ गते तुर्माखाँद बजारबाट घर जाने क्रममा २९ वर्षका सर्प विकले उनलाई हातपातसहित बलात्कार गरे । मदिराले लठ्ठ भएका विकले बजारबाट घर जाने बेलादेखि नै ती किशोरीलाई पच्छ्याइ रहेका थिए ।

घरनजिक पुग्ने बेला मदिराले मातेका सर्पले जब उनको शरीरमाथि आक्रमण गर्न थाले तब ती किशोरीकी आमाले सुनिन् । आमा घटनास्थल नपुग्दै भागेका विकले घर पुगेर गल्ती गरे माफ गर्नुस् भन्दै फोन गर्न थाले ।

उनकी आमाका अनुसार घटनाको पछिल्लो दिन जनप्रतिनिधि, केटा पक्ष र किशोरीका आफन्तसहित गाउँलेहरु बसेर घटना गाउँमै मिलाउनुपर्ने भन्दै दबाब दिए ।

गाउँमा दुवै पक्षले किशोरीलाई आर्थिक प्रलोभनमा पारेर मुद्दा मिलाउने प्रयास गरिरहे । ‘घटना घटिसकेपछि गाउँमा जनप्रतिनिधिसहित अरुले अलिकति पैसा लिएर मुद्दा मिलाउन भने । छोरीले मलाई पैसा चाहिँदैन यसले म माथि आक्रमण गरेर इज्जत लुटेको छ ।

मलाई न्याय चाहिन्छ भनिन्,’ किशोरीकी आमाले भनिन्,‘केटाले सबैका अगाडी मैले केही पनि गरेको छैन भन्न थाल्यो । घटना पनि नस्वीकार्ने र मुद्दामामिला पनि गर्नु हुन्न भन्न थाले । त्यो कुरा छोरीले मानिन ।’

उनकाअनुसार केटी पक्ष मुद्दामामिलामा गए उल्टै बदनाम हुने भन्दै किशोरीलाई फकाउन लागेका थिए । गाउँमा सबै मिलेर मुद्दामामिलामा जानबाट रोकेपछि ती किशोरी आइतबार तुर्माखाँद गाउँपालिकाको कार्यालयसम्म पुगिन् ।

कार्यालयमा गएर कानुनी प्रक्रियामा जान खोजेकी किशोरीले कसलाई भेट्ने, के गर्ने मेसो पाइनन् । न्याय खोज्न गाउँपालिका केन्द्रमा पुगेकी किशोरी निराश हुँदै घर फर्किन् ।

‘मेरा श्रीमान् घरको कामले तराई गएका छन् । छोराबुहारी बम्बै छन् । घरमा छोरी र ममात्रै छौं । गाउँले भएका सबै एक भए, छोरीका लागि बोलिदिने कोही भएन,’ उनकी आमाले भनिन्,‘दिउँसो म पनि गोरुबाख्रा चराउन गएँ ।

साथमा गइदिने अरु कोही भएन । साँझ घर आउँदा मेरो त कोही पनि रहेनछ भनेर आत्तिरहेकी थिइँ ।’ उनका अनुसार आँत्तिदै घरपुगेकी किशोरी छट्पटाइरहेकी थिइन् । ‘मेरो शरीरमाथि आक्रमण पनि गर्ने, समाजका मान्छे उल्टै केटाको पक्ष लिने, मेरो इज्जत नै गयो भन्न थाली । धेरै रोइकराइ गर्न थालेपछि म सम्झाउँदै थिएँ,’ उनकी आमाले भनिन्,‘म खाना पकाउन थालेँ । गाइबस्तुलाई घास हाल्न गएका बेला गोठभित्र पासो लगाएर छट्पटाइ रहेको देखेँ र हत्तपत्त पासो काटेँ ।’

आइतबार राति नै उनलाई तुर्माखाँद स्वास्थ्यचौकी पुर्‍याइएको र त्यता पनि सञ्चो नभएपछि जिल्ला अस्पताल मंगलसेन लगिएको उनले बताइन् । किशोरीमाथि भएको घटना बारे बुझ्न गाउँमा सबैलाई बोलाएपछि छलफलमा आफू पनि सहभागी भएको वडा सदस्य धनीराम जैशीले स्विकारे ।

‘गाउँमा मिलाउन सबै बसेको साँचो हो । किशोरीले मिल्ने कुरा मान्दैन भनेपछि गाउँपालिकातिर गएकी हुन्,’ वडा सदस्य जैशीले भने,‘जनप्रतिनिधिको हिसाबले बोलाएपछि जानै पर्‍यो । आत्महत्या नै गर्छ होला जस्तो लागेको थिएन ।’ किशोरीले आत्महत्याको प्रयास गरेको घटना सार्वजनिक भएपछि सोमबार प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

‘किशोरलाई नियन्त्रणमा लिएका छौं । किशोरीको पनि उपचार भइरहेको छ । घटनाबारे थप बुझेर आवश्यक प्रक्रियामा जान्छौं,’ उनले भने । कान्तिपुरबाट

ताजा समाचार

सम्बन्धित समाचार