Saturday, July 27, 2024

मास भड्काउने अभिव्यक्ति दिएको भन्दै नगर प्रमुख हमाललाई नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, अभिव्यक्ति नसच्चिए आन्दोलन गर्ने चेतावनी

प्रकाशित:

धनगढी । धनगढी नगर प्रमुख गोपाल हमालले आम सञ्चामाध्यमविरुद्ध जनमानसलाई भड्काउने अभिव्यक्ति दिएको नेपाल पत्रकार महासंघ कैलाली शाखा तथा विभिन्न संघ संगठनको ठहर गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंसिर १९ गते हमालले आफनो फेसबुक पेजबाट समाचार प्रकाशन तथा प्रशारण भएकै कारण आम नागरिकलाई मिडियाविरुद्ध भड्काउने गरि अभिव्यक्ति दिएको महासंघ तथा संघ संगठनले ठहर गरेको हो ।

आइतबार नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशीले नगर प्रमुख हमाललाई ध्यानाकर्षण पत्र बुझाउँदै सो अभिव्यक्तिलाई सच्याउन अनुरोध गरेका छन् ।

‘धनगढी उप–महानगरपालिकाका नगरप्रमुख गोपाल हमालबाट नै मिति २०८० मंसिर १९ गते बिहान आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन प्रशारण भएकै कारण आम नागरिकलाई मिडिया बिरुद्ध भड्काउने गरि दिएको अभिब्यक्तिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, नेपाल प्रेस यूनियन जिल्ला शाखा कैलाली, प्रेस चौतारी नेपाल जिल्ला शाखा कैलाली, प्रेस सेन्टर नेपाल जिल्ला शाखा कैलाली, समाजवादी प्रेस संगठन जिल्ला शाखा कैलाली लगायत सञ्चारकर्मीहरुको गम्भीर ध्यान आकर्षण भएको छ’ सो ध्यानाकर्षण पत्रमा भनिएको छ ।

फेसबुक पेजमा नगरप्रमुख जस्तो जिम्मेवार पदमा रहेका ब्यक्तिले आम नागरिकलाई समाचार लेख्ने अनलाईन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई ‘बाच’ निगरानी गर्न भनिएको अभिब्यक्ति प्रेस स्वतन्त्रता बिरोधी रहेको उनीहरुको ठहर रहेको छ ।

‘यो अभिब्यक्ति पत्रकार र मिडिया हाउसका बिरुद्ध आम नागरिकलाई भड्काउन खोजेको हाम्रो बुझाई हो । यस अभिब्यक्तिका कारण कुनै संचारकर्मी र मिडिया हाउस माथी आक्रमण भएमा, गालीगलौच वा धम्की आएमा त्यसको जवाफ स्वयं तहाँ नगरप्रमुख गोपाल हमालले नै लिनुपर्ने छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ –‘मिडिया र मिडियाकर्मी संग असहमती भएमा छलफल र कानुनी बाटोबाट निकास निकाल्न सकिन्छ । तर फेसबुक पेजमै सिंगो पत्रकारितालाई मुचेर पत्रकारिता बिरुद्ध भड्काउने कुरो कदापी सैह्य हुदैन ।’

महासंघका अध्यक्ष जोशीले तत्काल सोही माध्यमबाट पत्रकारिता प्रतिको आफ्नो धारणा राख्न र पोष्ट गरेको सामाग्री तत्काल सच्याउन माग गरे । त्यसो नभएमा मिडिया संस्था र मिडियाकर्मीहरु आन्दोलनमा उत्रिने चेतावनी पनि ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

सो क्रममा सञ्चारकर्मीहरुले धनगढी उपमहानगरपालिकाबाट सहज रुपमा सूचना तथा जानकारी नपाउने, जिम्मेवारी लिएका ब्यक्तिहरु सूचना दिनबाट पन्छिने जस्ता कार्य गरिरहेको गुनासो गर्दै ‘नेपालको संविधान २०७२ को भाग ३ धारा २७ मा रहेको सूचनाको हक, सूचनाको हक सम्वन्धी ऐन २०६४ को पूर्ण कार्यान्वयन हुने वातावरण बनाउन पनि नगरप्रमुख संग आग्रह गर्दछौं ।’

महासंघका अध्यक्ष जोशीले संचारकर्मीहरुलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न र ढुक्कसंग समाचार लेख्न, प्रकाशन तथा प्रशारण गर्न अनुरोध गर्दै ‘सधै पत्रकारको पेशागत सुरक्षाको पक्षमा एक हुने जानकारी गराए ।’

सो क्रममा नगर प्रमुख हमालले आफुले सम्पूर्ण मिडियालाई दोष दिन नखोजेको तर, आम सञ्चारमाध्यम तथा सञ्चारकर्मीमा पर्न गएको असरलाई हेर्दै अभिव्यक्ति सच्याउने प्रतिक्रिया दिए ।

ताजा समाचार

सम्बन्धित समाचार