Saturday, July 27, 2024

ब्याडमिन्टनका नेशनल च्याम्पियन धामीले आमाको स्मृतिमा अनाथालयमा ट्र्याक सुट बाँडे

प्रकाशित:

महेन्द्रनगर । अमेरिका गएका ब्याडमिन्टनका नेशनल च्याम्पियन दिपेश धामीले अनाथ बालबालिकालाई खेल पोशाक सहयोग गरेका छन् । दिपेशले चार वर्षदेखि महेन्द्रनगरस्थित समाज कल्याण अञ्चल बाल अनाथालयका बालबालिकालाई ट्रयाक सुट सहयोग गर्दै आएकोमा यस वर्ष पनि निरन्तरता दिएका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चार वर्ष अघि २०७६ मा नेशनल च्याम्पियन भएपछि उनले खुसी भएर पहिलो पटक अनाथ बालबालिकालाई खेल खेल्न प्रोत्साहनका लागि पोशाक सहयोग गरेका हुन् । त्यसको ठिक एक वर्षपछि उनकी आमा झुपादेवी धामीको निधन भएपछि उनले आमाको स्मृतिमा पोशाक वितरणलाई निरन्तरता दिएका छन् ।

यस वर्षका लागि शनिबार अनाथालयमा उनका बुवा हरक सिंह धामीले अनाथलयका सबै बालबालिकालाई ट्रयाकसुट उपलब्ध गराएका हुन् । दुई वर्ष अघि दिपेश अमेरिका गएपछि उनका बुवा हरक सिंहले ट्रयाक सुट वितरण गर्दै आएका छन् ।

‘दिपेश अहिले नेपालमा छैन, विदेश गएको छ, २०७६ मा नेशनल च्याम्पियन भएपछि खुसीयालीमा ट्रयाकसुट वितरण गरेको थियो, त्यसको ठिक एक वर्षपछि दिपेशको आमाको निधन भयो, त्यसपछि आमाको स्मृति वितरण गर्न थालिएको हो, दिपेश च्याम्पियन त २०६६/०६७ मा भई सकेको थियो’ शनिबार अनाथालयमा पोशाक वितरण कार्यक्रममा उनले भने,‘खेल क्षेत्रमा आउने अनाथ बालबालिकालाई केही प्रोत्साहन होस, हौसला होस भनेर ट्रयाकसुट सहयोग गरिएको हो ।’
दुई वर्ष अघि अमेरिका गएका धामी अहिले न्यूयोर्कस्थित ब्याडमिन्टन एकेडेमीमा प्रशिक्षक छन् ।

भीमदत्त नगरपालिका ६ ऐठपुरका दिपेशले सानैदेखि ब्याडमिन्टन खेलेर नेपाल च्याम्पियन भएका छन् । दिपेश अहिले पनि सबैभन्दा बढी अंक सहित सहित च्याम्पियनको रेकर्ड कायम राखेका छन् ।

पहिलो पटक ट्रयाकसुट वितरण गर्दा दिपेशले अनाथ बालबालिकालाई सबै खेलमा सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म अनाथालयबाट बालबालिका खेलका लागि तयार नदेखिएकाले सहयोग गर्न नसकिएको उनका बुवा धामीले बताए ।

‘यो ट्रयाकसुट वितरणपछि त्यति बेला दिपेशले जसले जे खेल खेले पनि पोशाक सहित खेल सामाग्री सहयोग गर्ने घोषणा गरेको थियो, अहिलेसम्म कोही नआएकाले त्यो सहयोग गर्न सकिएको छैन’ उनले भने,‘ट्रयाकसुटलाई बर्सेनी सहयोग गरी निरन्तरता दिँदै आएको छ ।’

दिपेशका बुवा धामी आफैं पनि भलिबलका खेलाडी हुन् । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष उनी अनाथ बालबालिकालाई ट्रयाक सुट सहयोग कार्यक्रमलाई आफ्नो परिवारले निरन्तरता दिने बताउँछन् । त्यसका लागि उनी जेठा छोरा दुर्गेशलाई अहिलेसम्मका सबै कार्यक्रम आफूसंगै सहभागी गराउँदै आएका छन् ।

‘यो सहयोगलाई मेरा घर परिवारले हरेक वर्ष वितरढा गर्दै जानेछ, मैले त्यो जेठो छोरा दुर्गेशलाई पनि संगै लिएर आएको छु’ उनले भने,‘म त ६० वर्षको भए, छोराले पनि सिकोस, निरन्तरता दिन सकोस भनेर संगै लिएर आउने गर्छु ।’
नेपाल टेलिकमबाट अवकाश पाएपछि २०७४ मा स्थानीय तह निर्वाचन लडेर भीनपा ६ को वडा अध्यक्ष निर्वाचित भएका धामी अहिले एकीकृत समाजवादीको जिल्ला पदाधिकारी छन् ।

ट्रयाक सुट वितरण कार्यक्रममा सुदूरपश्चिम खेलकूद परिषद्का सदस्य सचिव दिपक बहादुर सिंह, नेपाली महिला भलिबल टीमका राष्ट्रिय प्रशिक्षक जगदीश भट्ट, नेपालरुी भलिबल टीमका क्याप्टेन भरत शाह, ब्याडमिन्टन संघका अध्यक्ष मिनराज भट्ट, प्याब्सन सुदूरपश्चिमका वरिष्ठ उपाध्यक्ष शमरजङ्ग बहादुर चन्द, समाजसेवी लिलाध्वज वस्नेत लगायतका सहभागी भएका छन् ।

दिपेशका बुवा धामीले परिषद्का सदस्य सचिव सहित खेल खेल क्षेत्रका हस्तीको उपस्थितिमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

अनाथलायका उपाध्यक्ष हिरा चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा उनले फुटलब खेल्ने बालबालिकालाई पोशाक सहित खेल सामाग्री र अनाथलका अक्षयकोषमा २५ हजार सहयोग गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार