Tuesday, May 21, 2024

इजरायली विदेशमन्त्रीसँग साउँदको फोनवार्ताः नेपालीको शव ल्याउन सहजीकरणको आग्रह

प्रकाशित:

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरी हमासको आक्रमणमा ज्यान गुमाएको १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

परराष्ट्रमन्त्री साउद र समकक्षी कोहेनबीच मंगलबार दिउँसो भएको कुराकानीमा मृत्यु भएका नेपाली नागरिकहरुको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेशमन्त्री कोहेनसँग आग्रह गरेका हुन् ।

‘इजरायलमा १० जना नेपालीको मृत्युको खबरले हामीहरुलाई स्तब्ध बनाएको छ । उहाँहरु विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो’, कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरु इजरायल जानुभएको थियो । दुःखद घटनाले गर्दा उहाँहरुका घरपरिवारका सदस्यहरु दुःखी र चिन्तित हुनुहुन्छ ।’

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले इजरायली विदेशमन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताए ।

साउदले मृतकहरुको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक रहेको भन्दै थोरै ढिलाईले पनि घरपरिवारका सदस्यहरुमा झन पीडा थप्ने जानकारी कोहेनलाई गराएका छन् ।

त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने इजरायली विदेशमन्त्री कोहेनसँग बताए ।

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे । उनले आक्रमणपछि सम्पर्कबिहिन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरेका छन् ।

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरुलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे ।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ । यद्यपि, उहाँहरुमध्ये धेरै जना बंकरमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ’, कोहेनसँगको संवादका क्रममा साउदले भने, ‘उहाँहरु खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ । यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ ।’

बंकरमा बसेका केही नागरिकहरुले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए ।

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने बताए ।

उनले नेपाल फर्किन चाहने नेपाली नागरिकहरुको विवरण संकलन गरिरहेको भन्दै पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने जानकारी समेत गराएका छन् ।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्धता समेत जाहेर गरे ।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरुको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे । साथै, उनले इजरायल अहिले कठिन मोडमा रहेको समेत मन्त्री साउदलाई जानकारी गराए ।

मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार