कञ्चनपुरको पुनर्वासमा केमिकलकै कारण धानबाली नष्ट भएको पुष्टि

प्रकाशित:

पुनर्वास । कञ्चनपुरको दक्षिणी भेग पुनर्वास नगरपालिका वडा नं ५,७ र ९ मा बाढीका कारण ढुवान मा परी धानबाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा पानीमा केमिकल भेटिएको छ ।

पुनर्वासका सिमरी, उद्री, परासन र दोदा नदी किनारकै तीन सय बिघाभन्दा बढी धानबाली सुकेर र कुहिएर सखाप भएपछि कृषकहरुले नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान र उखुु सुकेको किसानहरुको आशंका गरेका थिए।

पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झण्डै ४ सय विघामा लगाइएको धानबाली केमिकल मिसिएको पानीकै कारण नष्ट भएको पुष्टि भएको छ । साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानबाली सुकेर नष्ट भएको थियो ।

‘धानबाली नष्ट हुनुमो कारण केमिकल नै भएको पुष्टि भएको छ,’ परीक्षण रिपोर्टबारे जानकारी गराउँदै नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने, ‘तर त्यो केमिकल कहाँबाट आएको भन्नेबारे अब छानविन गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमाण्ड ९सिओडी०र बायोकेमिकल अक्सिजन डिमाण्ड ९बिओडी० को मात्रा भेटिएको हो ।

बाढीपछि धानबाली सुक्न थालेपछि नगरपालिकाले साउन ३० गते र भदौ १ गते दुईपटक पानीको नमुना संकलन गरेको थियो । पहिलोपटक भीड धेरै भएकाले मुचुल्का बनाइएको थिएन । दोस्रोपटक नमुना संकलन गर्दा मुचुल्का समेत बनाइएको थियो ।

साउन ३० मा संकलन गरिएको नमुनामा सिओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बिओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको शाहीले बताए । उनका अनुसार दोस्रो पटक ४ दिनपछि भदौ १ मा संकलन गरिएको नमुनामा सिओडीको मात्रा ११ र बिओडीको मात्रा ४ भेटिएको छ ।

संकलन गरिएको दुवै नमुना सुदूरपश्चिम प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र ९नार्क० मा पठाइएको थियो । नार्कमा पानी परीक्षण हुन नसक्ने भएपछि काठमाण्डौंमै निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गरिएको हो ।

‘केमिकलकै कारण धान तथा अन्य घाँसपात सुकेको र माछा मरेको रिपोर्टमै उल्लेख गरिएको छ,’ शाहीले भने, ‘वनस्पती र जीवहरु बाँच्नलाई चाहिने भन्दा बढी मात्रामा सिओडी र बिओडी भेटिएको छ ।’ धान सुक्न थालेपछि कृषकहरुले नजिकै रहेको भागेश्वर सुगर मिलबाट बगेर आएको केमिकलकै कारण क्षति भएको आरोप लगाउँदै आएका छन् । सुगर मिल भएको क्षेत्र भन्दा माथि धानमा कुनै क्षति नपुगेकाले पनि कृषकदेखि प्राविधिकहरु मिलबाटै केमिकल बगेको हुन सक्ने अनुमान गरिरहेका छन् ।

शाहीले आइतबार नगरपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर केमिकलका बारेमा थप छानविन गरिने बताए । उनले यस विषयमा विज्ञहरुसँग पनि आवश्यक सल्लाह गरिने बताए । सुगर मिलले पानीमा भेटिएको केमिकल प्रयोग गर्छ वा गर्दैन पत्ता लगाएर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने बताए । सुगर मिलभन्दा तल्लो क्षेत्रमा मात्रै धानमा क्षति पुगेका कारण सुगर मिलबाटै केमिकल बगेर आएको कृषकहरुको दाबी छ ।

‘सुगर मिलले कस्तो खालको केमिकल प्रयोग गर्छ, पानीमा भेटिएको केमिकल कहाँबाट आएको हो, यो सबै छानविन गर्नुपर्ने हुन्छ,’ कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख टीकाराम थापाले भने, ‘केमिकलबाटै धानमा क्षति पुगेको प्रमाणित भएको छ ।’

दोदा नदीमा आएको बाढीपछि डुबान परेको क्षेत्र वडा ५ को सिमरी र उद्री तथा वडा १० परासनमा ३८५ विघा धान र २ सय १८ विघा उखुमा क्षति भएको कृषि शाखाले जनाएको छ । कृषकहरुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा उक्त विवरण संकलन गरिएको हो । नदी किनारको उक्त क्षेत्रमा हरेक वर्ष डुबान हुने गरेको छ । दोदा नदीमा बाढी आउने बित्तिकै बस्तीमा पसेर डुबान हुने गरेको हो ।

No description available.

No description available.

No description available.

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार