Saturday, July 27, 2024

बैतडीको एक विद्यालयमा दैनिक ४-५ छात्रा बेहोस हुन थालेपछि…

प्रकाशित:

बैतडी । बैतडीको तल्लोस्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्राहरू विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बागले बताए ।

गत हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको हो । उनले भने, ‘दैनिक ४,५ छात्रामा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा यो लक्षण बढी देखिएको छ । १२ देखि १४ वर्ष उमेर समूहमा छात्रामा बढी समस्या छ ।’

विद्यार्थीमा दैनिक बेहोस हुने समस्या देखिन थालेपछि पठनपाठन प्रभावित भएको प्रअ बागको भनाइ छ । बिहान विद्यालय आएर एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या सुरु हुन्छ ।

एक छात्रालाई यो समस्या देखिएलगत्तै अरू छात्रामा पनि लगत्तै देखिन्छ। छात्राहरूमा देखिएको यो समस्याको बारेमा स्वास्थ्यकर्मीहरूलाई पनि सोधेको उनले बताए ।

उनले भने, ‘हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौं। स्वास्थ्यकर्मीकै सल्लाहअनुसार दुई घण्टी मात्रै पढाएर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौं ।’

छात्राहरूमा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
उनले भने, ‘यो सामान्य खाले बिरामीका लक्षण हुन् ।

उनीहरूमा भावना उत्पन्न भएर एकबाट अर्कोमा हुने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ, सान्त्वना दिने, मनोबल बढाउने कुरा र सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिन खालका कार्यक्रम गर्नुपर्छ ।’

उक्त विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

ताजा समाचार

सम्बन्धित समाचार