बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले बिपी कोइराला बहुआयामिक व्यक्तित्व भएको बताएका छन् ।

आइतबार ११० औं बिपी जयन्तीका अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा बोल्दै डा. रिजालले बिपी बहुआयामिक व्यक्तित्व भएको बताउँदै उनको विचार अनुकरणीय रहेको बताए ।

‘बिपी राष्ट्रिय, अन्तरराष्ट्रिय तहको नेता र राजनीतिक विचारक मात्रै नभएर साहित्यकार पनि हुनुहुन्थ्यो’, रिजालले भने, ‘बिपी बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका विचार सबैका लागि अनुकरणीय छन्। उहाँले देखाएको मार्गमा हामी सबै हिँड्नुपर्छ ।’

प्रशिक्षण कार्यक्रममा डा. रिजालले बिपी नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्र रहेको बताए। उनले भने, ‘बिपी नेपालको स्वतन्त्रतालाई मुखारित गर्ने क्रान्तिकारी, कठिन दिनमा पनि आत्मविश्वास नगुमाई निरन्तर संघर्ष गर्ने र संघर्ष गर्दा केका लागि गरेको छु भन्ने नबिर्सीकन काम गर्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँको विचारलाई सधैं अनुसरण गर्नुपर्छ ।’
कांग्रेस देशमा सबैभन्दा ठूलो दल भए पनि सेन्स हराएजस्तो भएको बताए । नेपाल तरुण दल बैतडीले बिपी जयन्तीको अवसर पारी आयोजना गरेको प्रशिक्षण तथा वेबसाइट उद्घाटन कार्यक्रममा डा.रिजालसँगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट, नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष प्रमोदहरि गुरागाई, नेपाली कांग्रेस बैतडीका कार्यवाहक सभापति वीरबहादुर विष्टलगायतले प्रशिक्षण दिएका थिए ।