Saturday, July 27, 2024

शुक्लाफाँटामा जंगली हात्तीको आतङ्कः धानबाली नष्ट, स्थानियमा त्रास

प्रकाशित:

झलारी । शुक्लाफाँटा नगरपालिकाको गर्जमुनीमा हात्तीको बथानले वर्षेनी धानबाली नष्ट गर्दै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले वर्षेनी किसानले लगाएको धानबाली नष्ट गर्न थालेपछि यहाँका किसानहरु चिन्तित बनेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रवार राति हात्तीको बथान गर्जमुनीमा किसानको खेतमा पसेर धानबाली नष्ट गरेको हो । हात्तीको बथान आएर पाक्नै लागेको धानबाली नष्ट गरेको स्थानीयले बताएका छन् । हात्तीको बथानले धानबाली नष्ट संगै मानवीय भयको समेत त्रास रहेको स्थानीय बताउँछन् ।

यसैबीच शनिवार विहान सुदुरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री रमेश धामी,प्रदेश सभा सदस्य ओम बिक्रम भाँट ‘सरल’ले स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनमा शुक्लाफाँटा नगरपालिकाका नगर उपप्रमुख कल्पना जोशी (पन्त) वडाध्यक्ष तथा नगर प्रवक्ता लाल बहादुर ऐर,वडा नम्बर ५ का वडाध्यक्ष चक्र बहादुर खड्का,वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्र प्रसाद चौधरी,निकुञ्जका कर्मचारी समेत सहभागि थिए ।

जंगली हात्तीले किसानको धानबालीमा क्षति पु¥याएपछि अनुगमन गर्दै सुदुरपश्चिम प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री धामीले धानबालीको रोकथाम र नियन्त्रणका लागि उचित व्यवस्था गर्न मातहतका कार्यालयलाई निर्देशन दिए ।

उनले हात्तीले निम्त्याउन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि विद्युत् जडान गर्न पहल गरिने बताए । हात्तीबाट स्थानीय बासिन्दाले जोगिन साबधानी अपनाएर सुरक्षित साथ बस्नुपर्ने उनले बताए ।

यहाँका स्थानीयहरु हात्ती धपाउनका लागि रातभर जाग्राम बस्ने,होहल्ला गर्ने लगायतका क्रियाकलाप गर्दै आएका छन् । सुदुरपश्चिम प्रदेश सभा सदस्य भाटले क्षति भएको धानबालीको मुचुल्का बनाएर नगरपालिकामा पठाउन किसानहरुलाई आग्रह गर्दै नगरले नसके प्रदेश सरकारले राहत दिने प्रतिवद्धता गरे ।

हात्तीले गर्ने क्षतिको न्युनीकरणका लागि दीर्घकालिन समाधान खोज्न आवश्यक रहेको साँसद भाटले बताए । “वर्षेनी हात्तीको बथानले किसानको धानबालीमा क्षति गर्दै आइरहेको छ,प्रदेश सभा सदस्य भाटले भने,यसको दीर्घकालिन समाधान खोज्न आवश्यक छ,दिगो व्यवस्थापन गर्नुपर्दछ ।”

आफु सधै जनताको समस्या समाधानमा लागिरहने भन्दै समस्या समाधानका लागि सबै मिलेर लाग्नुपर्ने बताए । यहाँका तटबन्धको सवालमा जनताको तटबन्ध र प्रदेश सिँचाइको प्रमुखलाई ल्याएर समाधानका लागि पहल गरिने साँसद भाटको भनाई थियो ।

जंगली जनावर,प्राकृतिक प्रकोप,बाढी पहिरोबाट देशले प्रत्येक वर्ष क्षति ब्यहोर्दै आइरहेको भन्दै पीडितलाई राहत उपलब्ध गराएर यसको दीर्घकालिन समाधान खोज्नु मुख्य कुरा रहेको बताए । वर्षेनी किसानको खाद्यान्न बालीमा नोक्सनी पुर्याउने समस्याको दीर्घकालिन समाधान खोज्नुपर्ने बताए ।

यस्तै शुक्रवार राति नै शुक्लाफाँटाक ७ स्थित सिमलफाँटामा पनि हात्तीको बथानले धानबाली नष्ट गरेको छ । पाक्नै लागेको धानबाली हात्तीले नष्ट गरेको स्थानीय दान सिंह कुँवरले बताए ।

समस्या समाधानका लागि सम्बन्धीत निकायले कुनै वास्ता नगरेको उनको भनाई छ । निकुञ्ज आसपासका क्षेत्रहरुमा वर्षेनी हात्तीको बथाले धान र गहुँबाली नोक्सान गर्दै आएको छ । हात्ती नियन्त्रणका लागि प्रभावकारी योजना नहुँदा किसानले हैरानी खेप्दै आएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार