Saturday, July 27, 2024

चलमलायो भीमदत्त नगरपालिका : छाडा चौपाया व्यवस्थापनको पहल सुरु

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि पहल सुरु गरेको छ ।छाडा चौपायाका लागि एकीकृत गौशाला बनाउन नगरपालिकाले वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागको सहमति लिएर भीमदत्त नगरपालिका–१३ पिपरियामा जग्गा प्राप्त गर्ने प्रक्रिया सुरु गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर प्रमुख पदम बोगटीका अनुसार पिपरियामा रहेको झण्डै ४५ हेक्टर (करिब ७० विगाहा) जग्गामा छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्ने योजना रहेको छ ।नगरपालिकाले ८ महिनायता सो स्थानमा गौशाला निर्माण गर्न खोजे पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको असहमतिका कारण काम सुरु हुन सकेको छैन ।

निकुञ्ज प्रशासनले सो जग्गा मध्यवर्ति क्षेत्र भन्दै अवरोध खडा गरेपछि वन मन्त्रालयसँग समन्वय गरिएको मेयर बोगटीले बताए ।मन्त्रालयकै निर्देशनमा विभागका उपमहानिर्देशक अजय कार्कीको टोली अहिले महेन्द्रनगरमा रहेको छ । विभाग र नगरपालिकाको संयुक्त टोलीले आइतबार बिहान स्थलगत अवलोकन गरेपछि भने सो जगामा गौशाला निर्माणको आशा पलाएको मेयर बोगटीको भनाई छ ।

स्थलगत अवलोकनपछिको बैठकले निकुञ्जका सहायक वार्डेन प्रमोद यादव संयोजक रहेको कार्यदल गठन गरेको छ । नगरपालिका र नापी शाखाका २–२ जना प्रतिनिधि रहने सो कार्यदलले १ हप्ताभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।‘कार्यदलको प्रतिवेदनका आधारमा सो ठाउँमा गौशाला बन्छ’ मेयर बोगटीले भने, ‘नगरभरिका छाडा चौपाया एकसाथ व्यवस्थापन गर्ने योजना छ ।’

नगरपालिकाले सो ठाउँमा यसअघि १३ नम्बर वडाका अध्यक्ष रामचन्द्र वोहरा संयोजक रहेको कार्यदल गठन गरेको थियो। निकुञ्ज प्रशासनले सो जग्गा मध्यवर्ति क्षेत्रमा परेको भन्दै अवरोध खडा गरेपछि विभागकै टोली प्रस्तावित स्थलमा आएको हो ।निकुञ्जको तारबारभन्दा बाहिर रहेको जग्गामा निकुञ्ज प्रशासनले खिचलो गर्दा छाडा चौपाया व्यवस्थापन हुन नसकेको वडाअध्यक्ष बोहराको भनाई छ ।छाडा चौपायाका कारण भीमदत्त नगरपालिकाका किसान र अन्य वासिन्दाले समस्या भोग्दै आएका छन् । यसअघिको नगरपालिका नेतृत्वले १ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरे पनि समस्या जस्ताको त्यस्तै रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार