महेनद्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्यांकीमा परेर गएराति जंगली हात्तीको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका– ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालयपरिसरमा रहेको शौचालयको सेफ्टी ट्यांकीमा परेर एक जंगली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

‘गएराति १२ बजेपछि जंगली हात्तीको सेफ्टी ट्यांकीमा परेर मृत्यु भएको देखिएको छ,’ उनले भने, ‘अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का संकलन गर्ने काम भइरहेको छ ।’

जंगली हात्ती बथानमा आएको हुन सक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुन सक्ने बताए । ‘यसबारे थप अनुसन्धान भइरहेको छ,’ प्रमुख संरक्षण अधिकृत मेहताले भने, ‘विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गर्छौँ ’
