Saturday, July 27, 2024

लम्पी स्किन पीडित पशुपालकको धर्ना शुरु 

प्रकाशित:

निराजन रानाभाट काठमान्डौ  । लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरूको उचित क्षतिपूर्तिसहित सरकारसँग छ बुँदे माग राख्दै आएका पीडित किसानहरूले धर्ना दिन थालेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आज ललितपुरको हरिहर भवनमा रहेको पशु सेवा विभाग परिसरमा पुगेर उनीहरूले आफूहरूको माग सम्बोधन गर्न दबाबस्वरूप धर्ना दिएका हुन् । लम्पी स्किन रोग तत्काल नियन्त्रण गर्न र पीडित किसानहरूलाई राहतको व्यवस्था गर्न माग गर्दै आन्दोलनको कार्यक्रम शुरु गर्नुपरेको अखिल नेपाल किसान महासङ्घकी उपमहासचिव सरिता भुसालले बताए।

उनले पशुपालक किसानहरूले लिएको कर्जा पनि सरकारले मिनाहा गर्नुपर्ने बताए। पीडित किसानहरूले बीमाको भुक्तानी गर्न ढिलाइ गर्न नहुने पनि बताएका छन् । लम्पी स्किन महामारीका कारण विस्थापित किसानहरूको पुनःस्थापना र उनीहरूका लागि बीमाको भुक्तानी गर्न पनि सरकारसँग माग गरिएको अखिल नेपाल किसान महासङ्घ काठमाडौंका इन्चार्ज पुस्कर प्याकुरेलले बताए।

नेपाल पशुचिकित्सा परिषद्का अनुसार लम्पी स्किन महामारीबाट अहिलेसम्म २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भइसकेको अनुमान छ । नेपालमा मनाङबाहेक ७६ वटा जिल्लामा लम्पी स्किनको प्रकोप फैलिएको छ । परिषद्ले समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसकेको अवस्थामा झन्डै २५ लाख २६ हजार पशुमा सङ्क्रमण फैलिने र १ लाख गाईभैँसी मर्ने अनुमान गरेको छ । यसबाट झन्डै १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति हुने अनुमान छ ।

यो रकम नेपालको आउँदो आर्थिक वर्ष २०८०/०८१ को कुल बजेटको सात प्रतिशतभन्दा धेरै हुने परिषद्ले उल्लेख गरेको छ । ठूलो क्षति बेहोरे पनि सरकारको तर्फबाट कुनै प्रकारको सहयोग नपाएको किसानहरूले गुनासो गर्दै आएका छन् । तर सरकारले महामारी घोषणा गरेर क्षतिपूर्ति दिने घोषणा गरिनसकेको अवस्थामा पशुबीमा गराएका किसानहरूले त्यहीँबाट रकम पाउने पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार