Saturday, July 27, 2024

५९ जिल्लाका सबै विद्यालयमा पाठ्यपुस्तक पुग्यो, १८ जिल्लामा बाँकी

प्रकाशित:

महेन्द्रनगर ।  जनक शिक्षा सामाग्री केन्द्रले नयाँ शैक्षिकसत्र शुरु भएसँगै देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको दाबी गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत चैत २४ गतेदेखि वैशाख ३ गतेसम्म देशभरका ५९ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्रले बताएको हो।सोमबार पाठ्यपुस्तक बिक्रीवितरण र छपाईको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनक शिक्षा सामग्री केन्द्रमा अनुगमन गरेको थियो।

अनुगमनपश्चात जनक शिक्षा सामग्री केन्द्रका प्रवन्धक अनिलकुमार झाले अहिलेसम्म ५९ जिल्लामा पाठ्यपुस्तक पुगिसकेको जानकारी दिए। नयाँ शैक्षिक सत्र सुरू हुने समयसम्म सबै जिल्लाका सबै विद्यालयहरूमा पुस्तक उपलब्ध हुने झाको दाबी छ।५९ जिल्लामा पुस्तक पुगिसक्दा केन्द्रले कक्षा ६ देखि १० सम्मका १ करोड ५० लाख पाठ्यपुस्तकहरू छापिसकेको छ। झाका अनुसार चैत २४ देखि देशभर पाठ्यपुस्तक पुर्‍याउन सुरू गरिएको हो। बाँकी रहेका १८ जिल्लामा पनि केही दिनभित्र पुस्तक पुगिसक्ने उनले बताए।

हिमाली तथा पहाडी भेगका दुर्गम क्षेत्रहरूमा ढुवानीमा केही दिन बढी लाग्ने उनले बताए। यसपालि हुम्ला, जुम्ला, कालीकोट, मनाङ जिल्लामा समेत पुगिसकेको झाले बताए।‘पुस्तक छपाई गर्ने मेसिन,जनशक्ति,बजेट र कच्चा पदार्थको व्यवस्थापन समयमा नै गर्न सकेकाले यो वर्ष विद्यालय सञ्चालन हुनुभन्दा पहिले नैविद्यालयहरुमा पुस्तक पुर्‍याउन सफल भयौं,’ उनले भने।यसवर्ष थप तीन वटा छपाई मेसिन खरिद गरि प्रतिदिन ८० हजार छपाई क्षमतालाई बढाएर प्रतिदिन २ लाख ४० हजार पुस्तक छाप्न सक्ने क्षमतामा केन्द्र पुगेको छ। यसकारण पनि समयमै पुस्तक पुर्‍याउन सकिएको उनले बताए।

कागज खरिदमा समस्या नहुनु, स्थायी र जेलदारीका जनशक्ति थप गर्नु र चालुपुँजीको समस्या नभएकाले समयमा नै पुस्तक छपाई गरी विद्यालयहरु पुस्तक पुर्‍याउन सकिएको झाले बताए।यस वर्षको पुस्तक छपाइका लागि केन्द्रले राष्ट्रिय वाणिज्य बैंक र नागरिक लगानी कोषबाट गरी ८५ करोड ऋण लिएको थियो। झाका अनुसार पाठ्यपुस्तक विक्री गरेर केन्द्रले ४० करोड ऋण तिरिसकेको छ। प्रधानमन्त्री कार्यालयबाट पनि सहयोग पाएपछि पुस्तक छपाइमा थप सहज भएको झाले बताए।

केन्द्रले केन्द्रिय कार्यालयबाट कक्षा ६ देखि १० सम्मका १६ लाख १३ हजार ९५४,प्रादेशिक कार्यालय विराटनगरबाट ५ लाख ७३ हजार १४, प्रादेशिक कार्यालय जनकपुरबाट ५ लाख ७० हजार ७४६, प्रादेशिक कार्यालय भरतपुरबाट १२ लाख ७ हजार ९२० पुस्तक बिक्री गरेको छ।त्यस्तै प्रादेशिक कार्यालय पोखराबाट ७७ हजार ५ हजार ६ सय, प्रादेशिक कार्यालय बुटवलबाट ६ लाख ३४ हजार ४७४, प्रादेशिक कार्यालय नेपालगञ्जबाट १० लाख ३८ हजार, प्रादेशिक कार्यालय सुर्खेतबाट ३ लाख ५२ हजार २ सय र प्रादेशिक कार्यालय धनगढीबाट ६ लाख ६ हजार ४८१ गरी ७४ लाख ७२ हजार ३८९ पाठ्यपुस्तक बिक्रीवितरण भएको छ ।

सोलुखुम्बु,धनकुटा,मोरङ,सुनसरी,झापा,सिरहा,सर्लाही,बारा,पर्सा,रुपन्देही,बाँके,बर्दिया,दैलेख,सुुर्खेत,डोटी,डडेलधुरा,कञ्चनपुर र कैलाली गरी १८ जिल्लाका विद्यालयहरुमा पाठ्यपुस्तक बिक्री वितरण हुन बाँकी रहेको केन्द्रले जनाएको छ।
नयाँ शैक्षिकसत्र २०८० वैशाख १५ गतेभित्र सबै जिल्लाहरुमा पाठ्यपुस्तक पुर्‍याउने गरी काम भइरहेको प्रबन्धक झाले जानकारी दिए।

 

ताजा समाचार

सम्बन्धित समाचार