Thursday, March 28, 2024

सवारी दुर्घटनामा २० जनाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा बा.३ ख ४३८५ नम्बरको बस अनियन्त्रित भएर मंगलबार साँझ दुर्घटना हुँदा बस चालक समेत १७ जनाको मृत्यु भएको छ।

दुर्घटनामा १३ जनाको घटनास्थलमै तथा २ जनाको धुलिखेल अस्पताल र २ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका २२ जनामध्ये ९ जनाको धुलिखेल अस्पताल, ८ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

५ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

यस्तै सुनसरीको बर्जु गाउँपालिका–१ गोपी चोकमा को.३४ प ६४७८ नम्बरको मोटरसाइकल को.१ त ६७७४ नम्बरको ट्याक्टरमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा मोरङ रंगेली नगरपालिका–१ बस्ने २७ वर्षीय धिरेन्द्र सरदार र सुनसरी बर्जु गाउँपालिका–५ बस्ने २६ वर्षीय निरज सरदार रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको विराटनगर नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै रुपन्देही, शुद्धोधन गाउँपालिका–५ रजाडमा लु.६४ प ४१९३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६४ वर्षीया पुजनी थारुको मंगलबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको थियो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार