Saturday, July 27, 2024

सीमा नाकाबाट विभिन्न सामान तस्करी

प्रकाशित:

महेन्द्रनगर । सुरक्षाकर्मीहरू निर्वाचनको सुरक्षामा खटिएको मौका छोपी भारतसँग सीमा जोडिएका रुपन्देहीका सीमा नाकाबाट विभिन्न सामान तस्करी हुने क्रम बढेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

गत मंगलबार भैरहवा भन्सार कार्यालयले भन्सार छली गरेर नेपाल भित्र्याइएको २ करोडभन्दा धेरै मूल्यका विभिन्न सामान कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. ८ बर्कुल भन्ने स्थानबाट बरामद गर्‍यो ।

गाउँको एउटा घरमा भण्डारण गरी राखिएका ती सामानमा भन्सार महसुल धेरै लाग्ने महँगा मूल्यका लत्ताकपडा, सुर्ती, जुत्ताचप्पल, गुट्काका प्याकेट, अविर, खेलौना लगायत छन् ।

बुटवलको तिनाउ पुलमा बरामद गरिएको एउटा पिकअपलाई पछ्याउँदै जाँदा भन्सार कार्यालयको टोली ठूलो परिमाणमा अवैध सामान भण्डारण गरिएको उक्त गोदामसम्म पुगेको थियो ।

गतवर्ष मंसिर महिनामै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले तस्करहरूलाई प्रहरी कार्यालयमा नो इन्ट्रीु भन्ने अभियानसहित तस्करी नियन्त्रणमा आफूहरू केन्द्रित भएको बताएका थिए ।

तर अहिले भने निर्वाचनको समयमा परिचालन भएका यति धेरै सुरक्षा निकाय र सुरक्षाकर्मीको सुरक्षा घेरा तोडेर त्यति धेरै परिमाणको सामग्री बिनाभन्सार कसरी नेपाल भित्रिए र कपिलवस्तु पुगे भन्ने आफैंमा रहस्यमय छ । कपिलवस्तुमा गोदाम गरिएको उक्त स्थान पनि सशस्त्र प्रहरी बलको बिओपीदेखि २ मिटर नजिकै छ ।

भन्सार कार्यालय र सुरक्षा निकायको घेरा पार गर्दै अवैध सामान नेपाल भित्रिएका घटनाले तस्करी नियन्त्रणमा रुपन्देहीका सुरक्षा निकाय र राजश्वसँग सम्बन्धित निकायको निगरानी र भूमिका कमजोर बनेको पुष्टि गरेको छ ।

पछिल्लो समय भारतबाट सामान आयात गर्दा अनिवार्य रूपमा एलसी खोल्नुपर्ने नियम लगाइएपछि भन्सार हुँदै वैधानिक बाटोबाट आयात हुने क्रम घट्दै गएको छ भने अवैध रूपमा आयात हुने क्रम बढ्न थालेको छ ।

भारतीय सीमानाका जोडिएका रुपन्देहीका दक्षिणी गाउँहरूबाट दैनिक रूपमा चिनी, रासायनिक मल, लत्ता कपडा र दैनिक उपभोग्य वस्तु अवैध रूपमा नेपाल भित्रिने गरेका छन् । त्यस्तै नेपालमा आवश्यकता अनुसार रासायनिक मल पाउन नसकेपछि किसानहरूले खेती लगाउने सिजनमा भारतबाट अवैध रूपमा भए पनि रासायनिक मल ल्याउन बाध्य छन् ।

अहिले किसानहरू धान स्याहारेर गहुँ छर्न व्यस्त छन्। नेपाली बजारमा मल नपाएपछि भारतीय बजारबाट लुकीछिपी भए पनि ल्याउन किसानहरू बाध्य छन् । तर त्यसको फाइदा भने वास्तविक किसानले भन्दा तस्करहरूले उठाइरहेका छन्।

एउटै मोटरसाइकलमा ४र५ बोरासम्म मल राखेर सुरक्षाकर्मीकै युनिट अगाडिबाट हिँड्दा पनि प्रहरीहरूले भने आँखा चिम्लिदिने गरेको छ । अहिले भारतसँग सीमा जोडिएका मर्चवार क्षेत्रका घरहरूमा मोटरसाइकल र ट्याक्टरमा समेत मल र चिनीको तस्करी गरी गोदाम गरी राख्ने गरिएको छ ।

कदमहवा, बगौली, हरिनगढ, करौता, ठोठरी, तरैनी, खैराघाट, दुईमोहना, बनगाई, सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका सीमा नाकाबाट बढी मात्रामा तस्करी हुने गरेको छ ।

भारतबाट ल्याइएको चिनी र मल मोटरसाइकल र साइकलमा समेत लोड गरी भैरहवा, बेथरी, छपिया, मायादेवी, लुम्बिनी, गैंडहवा, सेमलार, मणिग्राम र बुटवलसम्म लैजाने गरिएको छ ।

दैनिक बिहान ५र६ बजेदेखि नै भन्सार छलि गरी ल्याएका रासायनिक मल, चिनी लगायतका वस्तु ओसार्नेहरूको लर्को हुने गरेको बेलबास बेथरी सडक किनारका स्थानीय बताउँछन् ।

सीमा सुरक्षा र तस्करी नियन्त्रणका लागि रुपन्देहीमा सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वाटर छ । १५ वटा सशस्त्र प्रहरी बलको युनिट, एउटा गण, ६ वटा बोर्डर आउट पोष्ट, गुल्म तथा सुरक्षा बेस रहेका छन् ।

विभिन्न क्षेत्रमा गरी नेपाल प्रहरीका पनि १३ वटा इलाका प्रहरी कार्यालय, ४६ वटा प्रहरी चौकी छन् । जिल्ला प्रहरी कार्यालय मातहत ७८ वटा प्रहरी युनिट छन् । ठाउँठाउँमा अस्थायी चेकपोस्ट र मोबाइल टोली र सादा पोशाकका प्रहरी खटिने गरेका छन् ।

तर तस्करी हुने क्रम भने रोकिएको छैन । चालु आर्थिक वर्षमा सशस्त्र प्रहरीले विभिन्न क्षेत्रबाट दुई करोडभन्दा बढी मूल्यको चिनी, लत्ताकपडा, कुखुरा, माछा, मोटरपार्ट्स, हार्डवेयर, दैनिक उपभोग्य वस्तु लगायतका सामग्री बरामद गरी भन्सार कार्यालय पठाएको बताए पनि त्योभन्दा धेरै परिमाणको सामान बरामद गर्न सकेको छैन ।

नेपाल प्रहरीले पनि अवैध रूपमा नेपाल भित्राइएका पौने दुई करोड बढीका सामान विभिन्न स्थानबाट बरामद गरी भन्सार कार्यालय पठाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रहरी प्रशासनको ध्यान निर्वाचनको सुरक्षामा केन्द्रित भएको बेला तस्करी बढ्न सक्ने भएकोले थप जनशक्ति परिचालन गरिएको दाबी गरे ।

यस्तै, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक गगन श्रेष्ठले सुरक्षा निकायको आँखा छलेर कहीँकतै तस्करी भएको भए पनि रुपन्देहीमा तस्करी नियन्त्रणमै रहेको दाबी गरे । उनले सीमा क्षेत्र र तस्करी नियन्त्रणको लागि खटिएका जनशक्तिलाई अहिले निर्वाचनको सुरक्षामा खटाउनु परेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार