के पाकिस्तानले इंग्ल्यान्डलाई हराउने नै हो त ?

प्रकाशित:

महेन्द्रनगर । महिनाको समय र ४४ खेलपछि ट्वान्टी-२० विश्वकप समाप्तीको संघारमा छ । आइतबार नेपाली समयअनुसार दिउँसो पौने दुई बजे फाइनल रहेको छ । उपाधिको भिडन्तमा ओर्लिदै छन्, पाकिस्तान र इंग्ल्यान्ड ।

खेल प्रसिद्ध मेलबर्न क्रिकेट मैदानमा हुँदैछ । कप्तान जस बटलरको नेतृत्वमा इंग्ल्यान्ड सेतो बल क्रिकेटमा मीठो लयबाट गुज्रिरहेको छ । त्यसैले बटलरलाई लाग्छ, पाकिस्तानले इंग्ल्यान्डलाई हराउने हो भने साँच्चै अद्वितीय ढंगले खेल्नु पर्नेछ ।

फेरि इंग्ल्यान्ड वान डे विश्वकपको पनि विजेता हो । त्यसैले उसको सामु एकै समय दुई विश्वकपको डिफेन्डिङ च्याम्पियन बन्ने अवसर छ । अर्कोतर्फ भाग्यमानी पाकिस्तानले पनि ठीक समयमा लय समातेको छ र उसलाई लाग्छ, स्थिति सबै उनीहरूकै अनुकूलतामा छ ।

यसबीच एक अर्को तत्त्व पनि निर्णायक देखिन्छ र यो हो, वर्षा । खेल वर्षाले प्रभावित रह्यो भने के होला त रु यो त अहिलेसम्म अनुमानमात्रै हो, तर खेलकै समय वर्षाको सम्भावना अनुमान गरिएको छ ।

सम्भावना पनि कस्तो भने शतप्रतिशत । धन्न, फाइनलका लागि सोमबार ‘रिजर्भ डे’ पनि राखिएको छ । सोमबार पनि वर्षाको सम्भावना छ, त्यसैले दुवैले उपाधिमा साझेदारी गर्नु पर्ने स्थिति पनि हुन सक्छ ।

फाइनलको नतिजाजस्तै भए पनि एउटा अर्को तथ्य भने निश्चित छ र यो हो, वेस्ट इन्डिज पछि इंग्ल्यान्ड होस अथवा पाकिस्तान, अथवा दुवै टिम दुई पल्टको ट्वान्टी-२० विश्वकप च्याम्पियन हुनेछ ।

सन् २००९ मा पाकिस्तानले पहिलोपल्ट ट्वान्टी-२० विश्वकप जितेको थियो, श्रीलंकालाई हराए । त्यसको एक वर्षपछि इंग्ल्यान्डले यस्तै सफलता चाखेको थियो, अस्ट्रेलियालाई पन्छाएर ।

अहिले तत्कालका लागि भने इंग्ल्यान्ड नै उपाधिको बलियो दाबेदार रहेको छ, कम्तीमा अहिलेसम्मको प्रदर्शनको आधारमा । इंग्ल्यान्डको सेमिफाइनल यात्रा धेरै हदसम्म अपेक्षित र सजिलो रह्यो ।

त्यहीं बाबर आजामको पाकिस्तानको सेमिफाइनल बाटो कठिन थियो, नाटकीय थियो, अझ भन्दा त्यसमा भाग्यको खेल थियो । नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई नहराएको भए, पाकिस्तान यहाँसम्म पुग्ने पनि थिएन् ।

तर मूल कुरा यहींतिर छ । सन् १९९२ मा वान डे विश्वकप अस्ट्रेलियामा भएको थियो र त्यसको उपाधि जितेको थियो, पाकिस्तानले ।

त्यति बेला पनि पाकिस्तानले लिग चरणमा राम्रो खेल्न सकेन्, तर नाटकीय मोडबीच सेमिफाइनल पुगेको थियो । त्यहाँ उसले न्युजिल्यान्डलाई हरायो र अन्ततस् फाइनलमा इंग्ल्यान्डलाई पन्छायो ।

अहिले पनि पाकिस्तानी टिमले बेहोरेको परिस्थिति ठ्याक्कै त्यस्तै छ, त्यसैले पाकिस्तानी क्रिकेट समर्थकको दाबी हो, अब इतिहास दोहोरिंदै छ ।

फेरि एकपल्ट पाकिस्तानले इंग्ल्यान्डलाई हराएर ट्वान्टी-२० विश्वकप जित्ने छ । त्यति बेला र अहिले फरक एउटा तथ्य के छ भने इंग्ल्यान्ड असाध्यै बलियो छ, बटलरको नेतृत्वमा रहेको टिम गज्जब छ ।

ताजा समाचार

सम्बन्धित समाचार