Friday, March 29, 2024

किशोर–किशोरीको हत्या प्रकरण : ४ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । दाङको तुलसीपुरमा खाल्डोमा पुरेको अवस्थामा असोज ३० किशोर र किशोरीको शव भेटिएको थियो । सो हत्यामा संलग्न आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न ४ जनालाई पक्राउ गरिएको दाङका एसपी वीरबहादुर ओलीले बताए । एसपी ओलीले भने– ‘४ जनालाई पक्राउ गरेका छौं, आज सार्वजनिक गर्छौं ।’

तुलसीपुर उपमहानगरपालिका–१३ स्थित दमार गाउँको जंगलमा १४ वर्षीय शरद आचार्य र १५ वर्षीय रोशनी महतरा मृत अवस्थामा भेटिएका थिए ।

उनीहरूलाई अन्यत्र हत्या गरेर जंगलमा लगेर पुरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पक्राउ परेका आरोपीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

मृतक दुवै जनाको टाउकोमा चोट देखिएको छ । घटना अनुसन्धानको क्रममा प्रहरीले दमार गाउँको जंगलबाट दुईथान मोबाइल बरामद गरेको छ ।

घटनास्थलबाट केही पर रगत लागेको चप्पल पनि भेटिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।दाङमा चल्ने बसमा काम गर्ने एकजना किशोर र मृतक किशोरीसँग परिचित युवकलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको थियो ।

ती युवकले मृतक किशोरीको सिमकार्ड लगेर चलाएको अनुसन्धानबाट खुलेको एक प्रहरी अधिकृतले बताए । मृतक असोज २७ बाट हराएका थिए ।

मृतक एउटै स्कुलमा पढ्थे । दमारगाउको अम्बिकेश्वरी स्कुलमा शरद ८ कक्षामा र रोशनी ९ कक्षामा अध्ययनरत थिइन् । उनीहरू दुई एक आपसमा नजिक रहेको अनुसन्धान अधिकृतहरू बताउँछन् । लुम्बिनी प्रादेशिक अस्पतालमा शव पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।

 

ताजा समाचार

सम्बन्धित समाचार