महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरी इन्स्पेक्टर ढुंगाना थुनामा

प्रकाशित:

महेन्द्रनगर । महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगानालाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामबहादुर खत्रीका अनुसार उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाएको उनले बताए ।

गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ । पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो ।

उनी घटनापछि काठमाडौंमा आइपुगेका थिए । तर उनलाई धादिङ फिर्ता बोलाएर पक्राउ गरेको थियो । उनीविरूद्ध प्रहरीले जाहेरी, सिसिटिभी फुटेज, बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ ।

‘जाहेरी, बयान, कम्पाउन्ड लगायतका सिसिटिभी फुटेजहरू संकलन गरेर हामीले प्रमाणको रूपमा पेश गरेका छौं,’ डिएसपी खत्रीले भने ।

ताजा समाचार

सम्बन्धित समाचार