Friday, March 29, 2024

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ७०५ वटा विद्युतीय सवारी आयात

प्रकाशित:

महेन्द्रनगर । सरकारले विदेशी विनमय सञ्चिति जोगाउन डिजेल पेट्रोलबाट चल्ने सवारीको आयात रोकेपछि चालु आर्थिक वर्ष २०७९-८० मा विद्युतीय चार पांग्रे सवारीको आयात उच्च दरमा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन-असोज) मा ७०५ वटा विद्युतीय सवारी आयात भएको छ । भदौसम्म यस्तो संख्या ४१४ थियो ।

सरकारले यो वर्ष महँगा मूल्यका विद्युतीय सवारीको भन्सार दर बढाएको छ । तर, पेट्रोल सवारीको आयात रोकिएका बेला विद्युतीय सवारीको आयात भने करिब तीन गुणाले बढेको छ ।

तीन महिनामा २ अर्ब ५० लाख रुपैयाँ मूल्यको इलेक्ट्रिक गाडी आयात भएको छ । यस्तो आयातबाट सरकारले ६२ करोड २२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

तीन महिनामा १ अर्ब ९१ करोड मूल्य बराबरको १०० किलोवाटसम्मका ६८६ वटा विद्युतीय सवारी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी १०० देखि २०० किलोवाट सम्मका १७ वटा र २०० देखि ३०० किलोवाटसम्मका २ वटा बिजुली गाडी नेपाल भित्रिएका छन् ।

गत आर्थिक वर्ष २०७८ को पहिलो तीन महिनामा ४४६ वटा मात्रै विद्युतीय सवारी आयात भएका थिए । कर सुहलियतका कारण यो वर्ष सय किलोवाटसम्मका विद्युतीय सवारीको आयात हृवात्तै बढेको छ ।

सरकारले गत जेठमा आएको बजेटमार्फत सरकारले शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि पुरानै दर अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायमै राखेको छ ।

१०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा सरकारले अन्तःशुल्क ३० प्रतिशत कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क पनि ३० प्रतिशत नै लगाएको छ ।

आर्थिक ऐन २०७९र८० अनुसार २०० देखि ३०० किलोवाटसम्मका विद्युतीय सवारीको भन्सार दर ४५ प्रतिशत लाग्छ । र, अन्तःशुल्क दर ४५ प्रतिशत नै कायम छ ।

यी दुवै जोड्दा ९० प्रतिशत कर लाग्न थालेको छ । ३०० किलोवाटभन्दा बढीका विद्युतीय सवारीलाई भन्सार शुल्क र अन्तःशुल्क दर पनि ६०र६० प्रतिशत कायम गरेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार