२०७९ माघ १३, शुक्रबार |
Friday, January 27, 2023

३१ अक्टोबर १९८४ को दिन इन्दिरा गान्धी मारिएको त्यो कालरात्रि

प्रकाशित:

महेन्द्रनगर । अक्टोबरको महिना हिन्दू धर्मावलम्बीहरूका लागि पावन महिना मानिन्छ । किनभने विजयादशमीको राष्ट्रिय पर्व सकिएको केही दिनपछि नै ज्योतिपर्वको दीपमालिकाले वातावरणलाई आलोकित गरिरहेको हुन्छ ।

पारिजातको सुवास वातावरणबाट विलुप्त भइसकेको हुँदैन । सयपत्री र मखमली फुलहरूले ढाकेका फुलोद्यानहरूबाट सुवास फैलिरहेको हुन्छ । मौसम पनि मनोहर, न जाडो, न गर्मी । वातावरणमा सर्वत्र चाडको उल्लास देखा पर्दछ ।

तर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा हुने कुनै घटनाले यस महिनाको पावनता र तारिख विशेषमाथि यस्तो दाग लगाउँदछ कि मानिस किंकर्तव्यविमूढ हुन्छ । वातावरणमा सर्वत्र खिन्नता, विरक्ति, उदासी र शोक व्याप्त हुन्छ ।

मनमस्तिष्क खलबलिन्छ र इतिहासका पानाहरूमा त्यस दिनलाई एउटा ‘कालो दिन’को रूपमा समेत अङ्कित गरिन्छ ।३१ अक्टोबर सन् १९८४ को दिन बिहान भारतको राजधानी दिल्लीमा घटेको यस्तै एउटा दुःखद घटनाले त्यस दिनलाई कलङ्कित गरेको थियो ।

त्यसले अनेक मानिसहरूका जीवनलाई स्वाहा मात्र गरेन, समस्त देशलाई शोकको सागरमा डुबायो, सयकडौँ परिवारलाई शोकसन्तप्त पार्‍यो र विश्वभरिका देशहरूलाई समेत स्तब्ध पार्‍यो ।

म एक रेडियोकर्मी । सिफ्ट ड्युटीको दिन भएकोले दिउँसो १ बजेपछि अफिस पुग्नुपर्ने थियो । यसो हुँदा बार्दलीमै बसी केही लेखपढ गर्दै थिएँ ।

बिहान ७ बजे स्कुल पुर्‍याएर आएको छोरी १ बजेपछि मात्र फर्किने हुँदा श्रीमतीलाई ‘तिमी छोरीलाई लिन जानु है’ भनेको थिएँ । तर १ बजेपछि फर्किने छोरी त्यस दिन बिहान १० बजेतिरै फर्किन् रातो मुख र गम्भीर अनुहार लिँदै ।

‘के भो छोरी, किन यति चाँडै रु’ प्रश्न गरेँ । मेरो कुरा सुनेर भान्सामा काम गरिरहेकी श्रीमती पनि निस्किन् । आमालाई देख्नासाथ उनीसित टाँस्सिँदै र रुँदै छोरी भन्न थालिन्–‘इन्दिरा गान्धीको किसी ने गोली मार दिया मम्मी । इसलिए जल्दी छुट्टी हो गयी ।’

छिमेकका हिन्दीभाषी केटाकेटी र स्कुलमा आफ्ना सहपाठीहरूसँगको निकट सम्पर्कले गर्दा हिन्दी जानेका छोरा–छोरीहरू आफ्नी आमासित पनि हिन्दीमै कुरा गर्दथे भने मेरी पत्नी पनि हिन्दी सिक्ने रहरले गर्दा छोराछोरीहरूसँग हिन्दीमै कुरा गर्थिन् ।

तर आज छोरी नयाँ भेषमा एकजना न्युज रिपोर्टरसरह ब्रेकिङ न्युज लिएर आएकी थिइन्, म रेडियो पत्रकारको निम्ति । छोरीको मुखबाट यो समाचार सुनेर म स्तब्ध भएँ र सोध्न थालेँ– ‘कसरी पायौ बा तिमीले यो खबर ?’

मसित नेपालीमा बोल्ने छोरीले भनिन्–‘म्यामले भन्नुभा । अब अहिले तिमीहरूलाई बिदा भो । स्कुल बसमा जाने केटीहरू बसको लाइनमा उभिन जाओ, नजिक घर हुनेहरू घर फर्के भो । तर हल्ला नगर्नु भन्नु भाछ ।’ छोरी पढ्ने स्कुल निवास स्थलदेखि नजिकै हिँडेर पुग्ने ठाउँमा भएकोले उनलाई घर फर्किन गाह्रो भएन ।

खबर सुनेर अनि छोरीको मनोदशा हेरेर म स्तब्ध भएँ । हाम्रो बसाइँ कस्तुरबा गान्धी मार्गस्थित अल इण्डिया रेडियोको विभागीय होस्टेलमा थियो ।

यस्तो अवस्थामा एकजना पत्रकार घरमा बसिराख्नु उपयुक्त हुँदैन भन्ठानी मैले श्रीमतीलाई भनेँ– ‘खाना पाकिसकेको छैन भने मेरो निम्ति रोटी सेकी देऊ । दाल, तरकारीको चक्करमा नपर । दहीसित रोटी खाएर अफिस गई हाल्छु ।’

कोठाभित्र पसेर रेडियो खोलेँ । भजन आइरहेको थियो । एउटा सकिएपछि अर्को भजन, त्यो सकिएको लगत्तै अर्को, त्यसपछि अर्को । यो शृङ्खला अटूट पाउँदा लुगा फेर्नपट्टि लागेँ ।

घरमा टेलिफोन, टेलिभिजन केही थिएन । सरकारको तर्फबाट व्यक्तिगत रूपमा कसैलाई पनि टेलिफोन उपलब्ध नगराई रिसेप्सन रुममा एउटा सार्वजनिक टेलिफोनको व्यवस्था गरिएको थियो, जसमा पैसा खसालेर कुरा गर्नुपर्ने हुन्थ्यो । त्यहाँ गएर आफ्नो एकांशको फोन नम्बर मिलाएँ ।

कोठामा फोन उठाउने कोही छैन । अनि ड्यूटी रुममा फोन मिलाएँ । एकजना अधिकारीले भने– हाँ, सुना तो मैने भी यही है । पर डिटेल कुछ मिल नही रहा है ।’ यति भन्दै उनले कुरा छोट्ट्याए । औडाहा बढेको बढिराखेकै छ ।

आफिस पुगेँ । सबैतिर हलचल छ । तर मुख खोल्न कोही तयार छैन । कसैलाई सोध्यो ‘पता नही है’ भन्छ, कसैले ‘डिटेल की प्रतीक्षा हो रही है’ भन्छ ।

एकजना साथी भेटिए । उनले बिस्तारै कानमा भने– ‘हमारा रेडियो तो कुछ नही बता रहा है, पर बीबीसीवाले कह रहे हैं कि उनकी मौत हो गयी है । इसके आगे मुझे कुछ पता नही । पर हाँ,।।। किसी से यह मत कहना कि यह बात मैने बताई ।’

त्यहाँबाट म आफ्नो डाइरेक्टरको कोठामा पसें । उहाँले गम्भीर मुद्रामा बस्न इसारा गर्दै भन्नुभयो–‘अच्छा किया आ गए । और लोग कहाँ हैं र?’ मैले भनेँ – ‘उनीहरू टाढा बस्छन् । आउँदै होलान् ।’

‘अच्छा इन्तजार करो, थोडी देर में बताते हैं ।’ भन्दै उनी फोनमा कसैलाई सम्पर्क गर्न थाले । केही बेरपछि सहकर्मीहरू पनि आए । बिहानी सिफ्टमा आएका सहकर्मी दिउँसोको कार्यक्रम प्रस्तुत गर्न स्टुडियोतर्फ लागे । हामी पनि निर्देशनानुसार विशेष कार्यक्रम बनाउन भनी निस्क्यौं ।

यो दुःखद घटना बिहान साढे आठ बजेतिर त्यति बेला घटेको थियो, जब इन्दिरा गान्धी कुनै विदेशी पत्रकारसितको भेटवार्ताको निम्ति आफ्नो निवासबाट निस्केर अतिथि कक्षतर्फ जाँदै थिइन् । र, उनीमाथि उनकै सुरक्षाकर्मीहरूले गोली चलाएका थिए, जो उनका विश्वासपात्र मानिन्थे ।

उनीहरूले किन गोली चलाए, यस सम्बन्धमा विस्तारमा नगई यति भन्न सकिन्छ कि अल इण्डिया रेडियोबाट इन्दिरा गान्धीको देहावसानको समाचार बेलुकी ६ बजेतिर प्रसारण गरियो । र, केही समयको अन्तरालपछि उनका छोरा राजीव गान्धीलाई तत्कालीन राष्ट्रपति ज्ञानी जैल सिंहले प्रधानमन्त्री पदको सपथ दिलाएको समाचार प्रसारण गरियो ।

आफिसमा पुनः हलचलको लहर उत्पन्न भयो । कार्यक्रम बनाउनेहरू सबै रेकर्डिङ स्टुडियोतर्फ लागे । हामी पनि पुग्यौँ । तर रेकर्डिङ मेसिन र डबिङ रुममा कि त हिन्दी, कि अङ्ग्रेजी कि समाचार दर्शन एकांशका कार्यक्रम निर्माताहरूको कब्जा भइसकेको रहेछ ।

कार्यक्रम बनाउने त कसरी ? मेरा अग्रज सहकर्मी गणेश नरसिंह राणाले भन्नुभयो– हतार नगरौँ । पहिले न्युज रुमबाट समाचार सङ्कलन गरौँ । आलेख तयार पारौँ । र मेटेरियलको व्यवस्था मिलाएपछि अरू डिटेल हालौँला ।’

उहाँको सल्लाह मन पर्‍यो । त्यसैअनुसार गरियो । आठ बजेपछि समाचार दर्शन एकांशका साथीहरूले र मेटेरियल अर्थात् विभिन्न नेताहरूका शोक सन्देश र श्रद्धाञ्जलीहरूको टेप दिए ।

आलेखलाई पूर्णता दिँदै आवाज रेकर्ड गरियो र कार्यक्रम तयार पारियो । निवासस्थल पुग्दा राति बाह्र बजिसकेको थियो । निवासस्थल फर्कँदै गर्दा ड्राइभरले भने– ‘बाहर तो साहब आग लग रही है ।’ मैले उनको कुरा बुझिनँ । निवासस्थल नजिकिँदै थियो । केही मिनेटभित्रै होस्टेल आइपुग्यो । सुत्दै गर्दा १ बज्यो ।

भोलिपल्ट अखबार खोलेर हेर्छु त ड्राइभरले भनेको कुरा सम्झेँ । इन्दिरा गान्धीको हत्या गरिएको आक्रोशमा हुल्याहा एवम् अराजक तत्त्वहरूको समूहले हत्यामा संलग्न हुने सुरक्षाकर्मीहरूका समुदाय विशेषका मानिसहरूमाथि अमानवीय एवम् क्रूरतापूर्ण व्यवहार मात्र गरेनन्, तिनीहरूका घरहरूमा आगो पनि लगाएछन् ।

अनेक मानिसहरू मारिएका र तिनीहरूका पसलहरूसमेत लुटिएका खबरबाट समाचारपत्र भरिएको थियो । मातृ शोकमा डुबेका प्रधानमन्त्री राजीव गान्धीले टेलिभिजनबाट सबैसित शान्तिका लागि अपिल गरे पनि यो ताण्डव दुई दिनसम्म चल्यो ।

अन्ततः सेनाले सडकमा फ्लैग मार्च गर्नु पर्‍यो । हिंस्रक भीड एवम् अराजक तत्त्वहरूको अमानवीय एवम् निर्मम घटनाबाट जोगिनको निम्ति अनेक फोटावालहरूले फोटा फाल्नु, केश कटाउनु र दाह्री खौराउनु नै उपयुक्त ठाने ।

यसरी ३१ अक्टोबर सन् १९८४ को कालरात्रिको अन्धकारमय वातावरणमा दिल्लीवासी र समुदाय विशेषका मानिसहरूको जीवन त्रासपूर्ण र कहालीलाग्दो भयो ।

आफ्ना प्रियजनहरूको वियोगमा शोकाकुल परिवारको आर्तस्वरबाट छरछिमेकको वातावरण समेत विषादमय भयो । उनीहरू दीर्घकालसम्म पीडा, दुःख र त्रासमय जीवन बिताउन विवश भए । शोक सन्तप्त जीवन बिताउँदै विलाप गर्दै बस्नु उनीहरूको नियति भयो ।

३१ अक्टोबर १९८४ को घटना र त्यसपछिका ती डरलाग्दा वातावरणमा काम गर्नु परेको अनुभूतिका कारण जहिले पनि ३१ अक्टोबरको तारिख आउँदछ, त्यति बेलाका दिनहरू स्मृति पटलमा आउन थाल्दछन् ।

त्यो सम्झेर अहिले पनि आङ सिरिङ्ग गर्दछ र मनभित्र प्रार्थनाका स्वर गुञ्ज्दछन् – त्यस्तो कालरात्रिको दृश्य फेरि कतै नदोहोरियोस् भगवान् । (रातोपाटी)

 

ताजा समाचार

सम्बन्धित समाचार