Saturday, July 27, 2024

कञ्चनपुरमा मध्यराती प्रहरीको दादागिरीः तिहार मनाइरहेको परिवारमाथि आक्रमण, घाइते ३ जना धनगढी रिफर

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त–५ वनगाँउमाको एक घरमा प्रहरीले बिहिबार राति दादागिरी शैलीमा खानतलासि एवं आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी निरीक्षक लोकेन्द्र सिंह खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले भीमदत्त–५ वनगाउँका महेश खड्काको घरमा अनावश्य दादागिरी शैलीमा खानतलासी सहित कुटपिट गरि घाइते बनाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिबार (भाइटिकाको दिन) घरपरिवारका सदस्य तथा नजिक–टाढाबाट आएका पाहुँना, आफन्त इस्टमित्र संग तिहार मनाइरहेका खड्काको परिवारमाथि प्रहरीले राति १० बजे दादागिरी (सिंगम) शैलीमा आक्रमण गरेको पिडित पक्षले पत्रकार सम्मेलन मार्फत बताएको छ ।

एक्कासी राति १० बजे घरमा छापा हानेर प्रहरी निरीक्षक ठगुन्ना कमाण्डमा खटिएको टोलीले हत्कडी सहित स्थानीय गोविन्द साउँदलाई कुटपिट गरेपछि घरपरिवारका सदस्य तथा पाहुँना सबै त्रसित बनेका थिए ।

महिला तथा पुरुषहरु घरमा छुट्टा–छुट्टै बसेर रमाइलो गरिरहेको अवस्थामा प्रहरीले अकस्मात पुरुषहरुमाथि कुटपित तथा खानतलासि गर्न थालेपछि महिलाहरुले प्रहरीको ज्यादती रोक्ने कोसिस गरेको पत्रकार सम्मेलनबाट जनाइएको छ । रातिको समयमा घरमा हो हल्ला तथा त्रासको अवस्था आएपछि गाउँलेहरु समेत प्रहरीको प्रतिकारमा उत्रिएको पिडित पक्ष बताउछन् ।

स्थानीयको प्रतिकारपछि खेत भएर भागेका प्रहरी निरीक्षक ठगुन्ना झण्डै आधा घण्टापछि प्रहरीको वान टन गाडी लिएर घरमा पुगेर फेरि कुटपिट गरेका थिए । वान टनमा आफैंमा बसेर गएका उनी नेतृत्वको प्रहरी टोलीले त्यसपछि सुरेश सिंह धामी, मनिसा खड्का, अनुरोध चन्दलाई कुटपिट गरेका थिए ।

‘पहिलो पटक दुई गाडी प्रहरीसित आउनु भएको थियो, छापा हाने, केही भेटिएन, मैले अब तपाईले शंका गरेको कुरा भेटिएन, यो घरको पारिवारिक खानपिन हो भने, एक छिनपछि त प्रहरीले गोविन्द भाई कुटपिट गर्न थाल्यो, आँखामा चोट लाग्यो,’ शुक्रबार घट्ना सम्बन्धी जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा घरधनी महेश खडकाका दाई सुरेश खड्काले भने,‘त्यसपछि झन हत्केडी लगाएर कुटपिट गर्न थालेपछि छिमेकी सहित अन्य गाउँले आई सकेका थिए, वहाँलाई घेरा हाली सकेको थियो, हामीले नै थामथुम पार्दैै खेतबारी भगेर भगायौ, नत्र हिजो ठूलो घट्ना हुन सक्थ्यो ।’

खेतबारी भएर भागेका प्रहरी निरीक्षक ठगुन्ना फेरि वान टन लिएर घरमा पसेर कुटपिटमा उत्रिएको खड्काले बताए । ‘पहिला जे भाको थियो, कुटपिट पनि भयो, त्यसपछि भागेर आएर फेरि गएर कुटपिट गरियो, यो गम्भीर छ’ उनले भने,‘त्यसमा संलग्न प्रहरीलाई कारवाही हुनु पर्छ ।’

तिहारका बेला पारिवारिक जमघटमा आएर प्रहरीले आफ्नो घरमा आएका आफन्त र दिदी बहिनीलाई समेत दुव्र्यवहार गरिएको उनीहरुले बताए । खानपिनमा सहभागी गोविन्द साउँदलाई कुटपिट हत्केडी लगाएर उनी सहितलाई २० मिनेटसम्म कोठाभित्र बन्धक बनाएको उनीहरुको भनाई छ ।

घरभित्र बन्धक बनाएपछि प्रहरी निरीक्षक ठगुन्नालाई पटक पटक आग्रह गर्दा पनि बाहिर आउन नदिएपछि घरधनी महेश खड्काले घरमा आगो लगाउन थालेपछि कोठाको चुकुल खोलिएको थियो । घरधनी खड्काले आगो लगाउने भनेपछि मात्रै प्रहरी निरीक्षक ठगुन्ना अलि शान्त देखिएको उनले बताए ।

स्थानीयले प्रहरी निरीक्षक ठगुन्नालाई घेरा हालेपछि अप्रिय घट्ना हुने अवस्था आएपछि उनी खेतबारी भएर भागेको स्थानीय बताउँछन् । उनलाई खेतबारीबाट भगाउन खानपिनमा सहभागी केहीले साथ दिएका थिए । वनगाउँ चौराह पुगाएपछि प्रहरी निरीक्षक ठगुन्ना ती सहयोगीमाथि आक्रोशित भएर पक्राउ गर्न खोजेका थिए । प्रहरी उपरीक्ष श्याम सिह चौधरीसम्म जानकारी पुगेपछि उनी पक्राउ नगरी फर्किएको स्रोत बताउछ ।

प्रहरीको कुटाईमा गम्भीर घाइते भएका अनुराग चन्द, सुरेश धामी र गोविन्द साउँदलाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालबाट धनगढी रिफर गरिएको छ ।

वनगाउँको त्यो घरमा जुवा चलिरहेको भन्ने पूर्व सुचनाका आधारमा प्रहरी निरीक्षक ठगुन्नाको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी श्याम चौधरीले बताए ।

तर, खानतलास गर्नु पुर्व नै जुवाडेहरु भाग्न सफल भएको एसपी चौधरीको दाबी छ । उता खड्का परिवारले भने कुनै प्रकारको जुवातास नभई घरमा पाहुँना आएको बेला खानपिन संगै रमाइलो भइरहेको बताएको छ ।

उक्त घटनाको विषयमा प्रहरी नायव उपरीक्षक चक्र शाहको नेतृत्वमा छानबिन समिति गठन गरेर ५ दिन भित्र प्रतिवेदन बुझाउन हुँन आदेश गरेको एसपी चौधरीले बताए ।

https://fb.watch/gslSgkGkkt/

ताजा समाचार

सम्बन्धित समाचार