सुदूरपश्चिमका एक सामुदायिक विद्यालयमा चार विद्यार्थी, पाँच शिक्षक

प्रकाशित:

कञ्चनपुर ।  दोधारा चाँदनी नगरपालिका–१० मा अवस्थित हरिओम आधारभूत विद्यालय हाल पूर्ण रूपमा अस्तित्व संकटमा परेको छ। विद्यालयमा कक्षा १ देखि ५ सम्म पढाइको व्यवस्था भए पनि हाल जम्मा चार जना विद्यार्थी मात्रै पढिरहेका छन्।

विद्यालयका प्रधानाध्यापक कुसबहादुर बुढाका अनुसार, कक्षा ४ मा एक जना, कक्षा ५ मा दुई जना, र एक जना बालविकास तहमा मात्र छन्। कक्षा २ र ३ मा त शून्य विद्यार्थी छन्।

“कसरी भन्नु? शिक्षक भएर तलब खाँदै छौं, तर तर लाज लाग्छ” प्रधानाध्यापक बुढाले पीडा पोखे, “यो विद्यालयलाई अन्य विद्यालयसँग गाभिदिए राम्रो हुन्थ्यो।”

यो विद्यालयमा पाँच जना शिक्षक कार्यरत छन्, तर विद्यार्थी संख्या अत्यन्त न्यून हुनुले विद्यालय सञ्चालनमा गम्भीर प्रश्न उठेको छ। स्थानीय अभिभावकहरू र शिक्षकमाझ व्यापक असन्तोष छ। उनीहरूका अनुसार, सामुदायिक विद्यालयप्रति जनविश्वास ह्रास हुनुको प्रमुख कारण गुणस्तरहीन शिक्षा हो।

एक शिक्षिकाले भनिन्, “अभिभावकहरू अब आफ्ना छोराछोरीको भविष्य सामुदायिक विद्यालयमा सुरक्षित ठान्दैनन्। शिक्षकले पढाउँछन्, तर त्यो स्तर पुग्दैन।”

केही दिनअघि दोधारा चाँदनी नगरपालिकाका मेयरले ‘शिक्षामा फड्को मारिएको’ दाबी गरेका थिए। तर हरिओम विद्यालयजस्ता विद्यालयहरूको वास्तविकता हेर्दा त्यो दाबी हावादारी लाग्न थाल्छ।

नगरपालिकाका अन्य सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थी संख्यामा तीव्र गिरावट देखिन थालेको छ। निजी विद्यालयमा अभिभावकहरूको आकर्षण बढिरहँदा, सामुदायिक विद्यालयहरू दिन प्रतिदिन सुनसान बन्दै गएका छन्।

शिक्षा क्षेत्रमा काम गर्ने विज्ञहरूले चेतावनी दिँदै भनेका छन्, “यदि राज्यले यस्ता विद्यालयप्रति गम्भीर ध्यान नदियो भने निकट भविष्यमा सामुदायिक शिक्षाको जग नै ढल्न सक्छ।”

ताजा समाचार

सम्बन्धित समाचार