महेन्द्रनगर । भीमदत्त नगरपालिकामा अवैध गतिविधि रोक्नका लागि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले नगर विकास समितिको विरुद्धमा संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्। उनीहरूले नगरपालिकालाई तुरुन्तै कारबाहीको माग गरेका छन्।

विज्ञप्तिमा नगर विकास समितिले सरकारी निर्णयको उल्लङ्घन गर्दै अवैध गतिविधि सञ्चालन गरिरहेको आरोप लगाइएको छ। नेपाल सरकारले २०७८ पौष १४ मा समितिलाई विघटन गर्ने निर्णय गरिसकेको भए पनि, उक्त समिति अझै पनि सक्रिय रहँदै अनियमितता र भ्रष्टाचारमा संलग्न रहेको दाबी गरिएको छ।

समितिका कामले नगरपालिकाको गरिमा गिराउँदै जनताको विश्वास गुम्ने खतरा निम्त्याएको भन्दै, दलहरूले तुरुन्तै समितिका सबै गतिविधि रोक्न माग गरेका छन्। यस विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, र नेपाल कम्युनिष्ट पार्टी (बुहात) का नेताहरूको हस्ताक्षर छ।

विज्ञप्तिमा नगरपालिकालाई समितिका गतिविधिबारे स्पष्ट जानकारी दिन पनि आग्रह गरिएको छ। दलहरूले अबिलम्ब कदम नचालिए जनताको हितमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।



