काठमाडौं । गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले ७ बाट बढाएर ९ मन्त्रालय बनाउने निर्णय गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

यसअघि अघिल्लो साल पुस २५ गते मुख्यमन्त्री हुँदा खगराजले नै १२ बाट ७ मन्त्रालय बनाउने निर्णय गरेका थिए ।

यसपटक सत्ता संकटमा फेरि ९ मन्त्रालय बनाउने र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय भएको चुमानले जानकारी दिए ।
याेसँगै मन्त्रिपरिषद्काे बैठकले गण्डकीकाे मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेकाे छ । हालैकाे एमाले लमजुङकाे अध्यक्षमा हार व्यहाेरेका खगराज गुटका कृष्ण अधिकारीलाई न्यायाधिवक्ता बनाउने निर्णय गरिएकाे छ ।
गण्डकीमा मुख्यमन्त्री नियुक्तविरूद्ध मंगलबार मात्र तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रिट दायर गरेका छन् । बुधबार सर्वाेच्चले दीर्घकालीन महत्वकाे निर्णय नगर्न अन्तरिम आदेश जारी गरेकाे छ । मुख्यमन्त्री अधिकारीले मंगलबारकाे बैठकबाट निर्णय गरेकाे चुमानले जानकारी दिए ।
गण्डकीमा सभामुखलाई समेत प्रयाेग गरेर एमालेका २२, माओवादीका ८ र दीपक मनाङेसहित दाबी पेश गरेका थिए । प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री खगराज अधिकारीलाई २५ गते नियुक्त गरेका थिए । २ सदस्य रहेकाे राप्रपा अनिर्णित हुँदा २७ सदस्य रहेकाे कांग्रेसका सुरेन्द्रराजले २१ गते राजीनामा दिएर ठूलाे दलकाे हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीति लिएका थिए । तर, पाण्डेलाई राेक्दै मनाङे र सभामुखकाेसहित साथ लिएर एमाले-माओवादीले दाबी पेश गर्दा प्रदेश प्रमुखबाट अधिकारी नियुक्त भएका थिए ।


