ढुङ्गा नियन्त्रण गर्न गएको नगरपालिकाको टोली रित्तो हात

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका ४ को बगुन खोलाबाट अवैध उत्खनन गरिएका ढुङ्गा नियन्त्रण गर्न गएको नगरपालिकाको टोली रित्तो हात फर्किएको छ । बगुन खोलाबाट अवैध उत्खनन गरी खोला किनार र सामुदायिक वन क्षेत्रमा राखिएका ढुङ्गा नियन्त्रणमा लिन प्रहरी सहित नगरपालिकाको टोली बगुन खोला गएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली लिएर गएको नगरपालिकाको टोली स्थानीय सँग छलफलपछि ढुङ्गा नियन्त्रणमा नलिएर फर्किएको छ ।

उक्त क्षेत्रका स्थानीयहरुले नगरपालिका र स्थानीयहरु बीच अवैध उत्खनन गरिएका ढुङ्गा रोयल्टी काटेर खाली गर्ने सहमति भएपछि ढुङ्गा नियन्त्रण गर्ने कार्य तत्काल रोकिएको बताउछन । त्यसैगरी स्थानीयहरु सँग विवाद बढेपछि नगरपालिकाले रोयल्टी काटेर तीन दिनभित्र खाली गर्ने मध्यमार्गी बाटो अपनाएको छ । खोलाबाट अवैध ढुङ्गा उत्खनन गरिएको गुनासो बढेपछि वन कार्यालयले नगरपालिकालाई ढुङ्गा हटाउन तीन दिनको निर्देशन समेत दिइएको थियो । उक्त निर्देशन अनुसार नै नगरपालिकाको टोली सोमबार विहान ढुङ्गा व्यवस्थापनका लागि जेसिभी लगायतका साधन सहित खोलामा पुगेको स्थानीयहरुको भनाइ छ । बगुन खोलाबाट स्थानीयहरुले वर्षौदेखि अवैध रुपमा ढुङ्गा लगायतका नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन् ।

उकत ढुङ्गा खोला किनार र सामुदायिक वन क्षेत्रमा राखिएका छन् । वन कार्यालयले सामुदायिक वनलाई उक्त ढुङ्गा हटाउन पटक पटक निर्देशन दिएको थियो भने, सामुदायिक वनले ढुङ्गा खाली गर्न गत वर्षदेखि स्थानीय सँग छलफल गर्दै आइरहेको छ । बेदकोट नगरपालिका कार्यालय माथि पछिल्लो पटक ढुङ्गा हटाउन दबाव परेपछि नगरपालिकाले वडा कार्यालयलाई ढुङ्गा व्यवस्थापनका लागि पटक पटक निर्देशन दिएको थियो । वडा कार्यालयले ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि नगरपालिका सोमबार प्रहरी टोली सहित खोलामा गएको थियो ।

बेदकोट नगरपालिकाको नदीजन्य पदार्थ उत्खनन, बिक्री वितरण समितिका संयोजक समेत रहेका नगरपालिका ४ का वडाध्यक्ष नरेन्द्र बहादुर बोहरा सहित नगरपालिका कर्मचारी र प्रहरी टोली उक्त खोलामा सहभागी भएका थिए । त्यसैगरी उक्त क्षेत्रका स्थानीयहरुले बेदकोट ४ को बगुन र अर्को साझगाड खोलाबाट अवैध उत्खनन समेत हुने गरेको बताउँछन् । उक्त दुबै खोलाको चुरे क्षेत्रबाट समेत ढुङ्गा उत्खनन बिक्री विरण हुँदै आएको र दुबै खोलामा जनप्रतिनिधि आफै अवैध उत्खननमा संलग्न भएको स्थानीयको भनाइ छ ।

ताजा समाचार

सम्बन्धित समाचार