सुदूरपश्चिमका चार नाकामा पुनः कोरोना परीक्षण सुरु

प्रकाशित:

भारतबाट फर्कने यात्रुहरूमा फेरि कोरोनाको संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशका चारवटा सीमा नाकामा स्वास्थ्य परीक्षण कडा पारिएको छ। गड्डाचौकी (कञ्चनपुर), गौरीफण्टा (कैलाली), झुलाघाट (बैतडी) र पुलघाट (दार्चुला) नाकामा ‘हेल्थ डेस्क’ पुनः सक्रिय बनाइएका छन्।

सुदूरपश्चिम प्रदेशको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार यी हेल्थ डेस्कहरूमा शङ्कास्पद यात्रुको एन्टिजेन परीक्षण गरिँदैछ। केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार सीमामा आउनेहरूको स्वास्थ्य अवस्था हेरेर प्राथमिकताका आधारमा परीक्षण किट प्रयोग गरिँदैछ।

हालसम्म झुलाघाटमा ५५, पुलघाटमा २५, गड्डाचौकीमा १०० र गौरीफण्टामा १५० परीक्षण किट उपलब्ध गराइएको छ। भारतमा कोरोनाको संक्रमण दर बढ्दै गएकाले खेतिपाती तथा रोजगारीका लागि भारत गएका नेपालीहरू फर्कँदा संक्रमणको जोखिम बढेको बताइएको छ।

गौरिफण्टा नाकामा जेठ २१ गतेदेखि परीक्षण सुरु गरिएको थियो भने बाँकी तीन नाकामा जेठ २७ गतेदेखि परीक्षण कार्य अगाडि बढाइएको हो। जेठ २१ देखि २८ गतेसम्म १६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको प्रदेशले जनाएको छ।

गड्डाचौकीमा खटिएका स्वास्थ्यकर्मी विशाल भट्टका अनुसार परीक्षणको चाप उच्च रहे पनि किटको संख्या सीमित रहेको छ। “शङ्कास्पद बिरामीको परीक्षण भइरहेकाले चाँडै थप किट आपूर्ति हुन जरुरी छ,” उनले भने।

चारवटै नाकामा गरी सातजना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। भारतसँग सिधा आवागमन हुने भएकाले सीमावर्ती क्षेत्रहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार