गाई भैँसीमा फेरि देखियो ‘लम्पी स्किन’

प्रकाशित:

काठमाडौँ । दुई वर्षअघि महामारीको रूप लिएको ‘लम्पी स्किन’ को सङ्क्रमण अघिल्लो वर्ष कम भए पनि यस वर्ष फेरि देखिन थालेको छ । पशुसेवा विभागले ‘लम्पी स्किन’ सङ्क्रमणबाट पशुधनमा हुन सक्ने सम्भावित जोखिमलाई हेरेर पूर्वतयारीमा जुट्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ ।

वर्षाको समयमा सबैभन्दा धेरै ‘लम्पी स्किन’ को सङ्क्रमण देखिने भएकाले विभागले खोप सात वटा नै प्रदेशमा पठाएको छ । पशुसेवा विभागका महानिर्देशक डा। रामनन्दन तिवारीले खरिद भएको १४ लाख ६० हजार डोज खोपमध्ये १० लाख डोज खोप सात वटा नै प्रदेशमा पठाएको जानकारी दिए। चार लाख डोज खोप भने केन्द्रमा नै राखिएको छ ।

विभागमा कार्यरत डा। नवराज श्रेष्ठले प्रदेशको मागका आधारमा खोप उपलब्ध गराइएको प्रदेशले जिल्लामा पुर्‍याएर स्थानीय तहमा रहेका पशु स्वास्थ्यकर्मीले किसानको घर घरमा पुगेर खोप लगाउने उहाँले बताए ।

देशका विभिन्न स्थानमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिन थालेकाले समयमै खोप लगाएर पशुधनमा हुने जोखिम कम गर्न आवश्यक रहेको महानिर्देशक तिवारीले उल्लेख गरे। लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पुर्‍याउन विभागले अनुरोध गरेको छ ।

“अहिले ठुलो सङ्ख्यामा सङ्क्रमण देखिएको छैन, पूर्वतयारी गर्न विभागले प्रदेश र स्थानीय सरकारसँग समन्वय गरिरहेको छ,” उहाँले भने ।

अघिल्लो दिनसम्म सामान्य रहेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो र गोलो गाँठा आउने, मुख र नाकमा घाउ हुने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्किएमा पशु प्राविधिकलाई बोलाउन आवश्यक हुने पशु चिकित्सक मणिप्रसाद दाहालले बताए।

दाहालले भन्नुभयो, “गाईभैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो, यो । त्यसैले निकै सावधानी अपनाउनु पर्छ ।” उहाँले लामखुट्टे, झिँगा र किर्नाको टोकाइबाट पशुमा ‘लम्पी स्किन’ सर्ने भएकाले सरसफाइमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले खोपले पनि सङ्क्रमण रोक्न प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । यो अवस्थामा सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरन क्षेत्रको प्रयोग गर्न नहुने बताउनुभयो । “पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्ने भएकाले पशु प्राविधिकले विशेष सावधानी अपनाउन आवश्यक छ,” उहाँले भन्नुभयो । सङ्क्रमित पशुको दुध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र खास गरी ज्वरो नियन्त्रण गर्न नसकेमा सङ्क्रमित गाईवस्तु मर्न सक्ने पशु चिकित्सक बताउँछन् ।

नेपालमा २०७७ साल असारमा मोरङको सुन्दरहरैँचामा पहिलो पटक ‘लम्पी स्किन’ रोग देखिएको थियो । ‘लम्पी स्किन’ रोगका कारण मर्नेमा प्रायः अत्यधिक श्रममा खटिने गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी हुने गरेको विगतमा पुष्टि भएको पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले उल्लेख गर्नुभयो । नियमित रूपमा दैनिक १० लिटर दुध दिने पशुले मुस्किलले दुई लिटर दुध दिने अवस्था आउने भएकाले ध्यान पुर्‍याउन आवश्यक छ ।

सापकोटाले ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिन थालेको सूचना पशुसेवा विभागले जारी गरेको र पार्न सक्ने प्रभावलाई नियन्त्रणमा लिन सरकारले विशेष योजना अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले किसानले आफ्ना पशुमा समस्या देखिएमा तत्कालै प्राविधिक बोलाउनुपर्ने सुझाव दिनुभयो । स्वस्थ्य पशुमा अहिले नै ‘लम्पी स्किन’ विरुद्धको खोप लगाउने हो भने जोखिम कम हुने उहाँले बताउनुभयो ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले ‘लम्पी स्किन’ रोगले विगतमा पारेको आर्थिक क्षतिबारे अध्ययन र हुन सक्ने जोखिमलाई समयमै ध्यान दिन सरकारसँग अनुरोध गर्नुभयो । उहाँले पशुचौपायाको मृत्युदरले ठुलो आर्थिक क्षति पुर्‍याउने र सङ्क्रमणबाट उत्पादनमा आउने ह्रास हुनु गम्भीर विषय भएको र सरकार तथा निजी क्षेत्रले त्यसबारेमा ध्यान दिन आवश्यक रहेको बताए।

दुई वर्षअघि मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँ बराबरको आर्थिक क्षति बेहोरेका थिए । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ पशुमा सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । नेपालमा ३१ लाख हाराहारीमा गाई र ४७ लाख भैँसी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार