भीमदत्त-१०: सामुदायीक पशु व्यवस्थापनमा उदाहरणीय पहल

प्रकाशित:

कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नम्बर १० ले सामुदायीक पशु व्यवस्थापनको क्षेत्रमा अभिनव र अनुकरणीय कार्य गर्दै स्थानीय तहमै उदाहरणीय अभ्यास सुरू गरेको छ।

वडा अध्यक्ष महेश चन्दको अगुवाइमा सञ्चालनमा आएको यस कार्यक्रमले सडक दुर्घटनामा पर्ने पशुजन्य जोखिम, सार्वजनिक स्वास्थ्यमा देखिने असरहरू र पशुप्रति बढ्दो बेवास्ताको दीर्घकालीन समाधान खोज्न उद्देश्य राखेको छ।

वडाले सञ्चालनमा ल्याएको व्यवस्थापन विधि अन्य वडाहरूको तुलनामा व्यवस्थित र वैज्ञानिक देखिन्छ। यहाँ घरपालुवा पशुहरूलाई नियमित रूपमा पोषणयुक्त पराल, भुसा तथा पकाइएको कुडो खुवाउने गरिएको छ। बाछाबाछीसहितका गाईगोरूका लागि चारा उपलब्ध गराउने तथा पिउने पानीका लागि बोरिङ जडान गरिएको छ।

पशुहरूको हेरचाहका लागि ३ देखि ४ जना कर्मचारी खटाइएका छन्। गोबर र पिसाब छुट्टाछुट्टै सङ्कलन गरी मलको रूपमा प्रयोग गरिन्छ, जुन खेतमा प्रयोग गर्दा हरियो चरी घाँस उत्पादन समेत भएको छ।

स्थानीय बासिन्दाहरूले गाईको दूध तथा गौमुत्रको उपयोग गर्दै आएका छन्। वडाले पशुको परिचय तथा स्वास्थ्य अभिलेख राख्ने व्यवस्था पनि सुरू गरेको छ, जसबाट बिरामी परेका पशुको तत्काल उपचार गर्न सजिलो भएको छ।

वडा अध्यक्ष चन्दका अनुसार, “समुदायको सहकार्य, इच्छाशक्ति र समन्वयको बलमा यस्तो काम सम्भव भएको हो।

यस कार्यक्रमले कञ्चनपुर जिल्लामा मात्र होइन, देशका अन्य स्थानीय तहहरूमा पनि सामुदायीक पशु व्यवस्थापनको सफल अभ्यासको सम्भावना देखाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार