देश छोड्दा मेरी आमा र मेरा आफन्त मात्र रोउलान् भन्ने सोचेको थिएँ। तर यहाँ सिङ्गो कञ्चनपुर, कैलाली रोएको देखेँ। मलाई भन्दा पीडा उहाँहरूमा देखेँ। घरायसी आर्थिक अवस्थाले विदेशिएको होइन म।

विदेशिनुमा मेरो रहर भनौँ या बाध्यता! २०६८ सालमा मेरै दाजु पुष्पराज जोशी (हाल नेपाल प्रहरीका सहायक हवल्दार) को माध्यमबाट कैलालीको धनगढीबाट प्रकाशनमा आउने श्रम–सृजना दैनिक पत्रिका र विभिन्न राष्ट्रिय पत्रिकाको वितरकको रूपमा काम गर्न सुरु गरेँ।

त्यसबेला कञ्चनपुरको दक्षिणी क्षेत्रमा पत्रकारिता तथा साहित्यिक क्षेत्रमा चर्चित व्यक्तित्व एवं मेरा गुरु रञ्जित लामासँग जोडिएँ। उहाँको प्रेरणाबाट मैले पत्रकारिता क्षेत्रलाई अझ फराकिलो बनाउँदै लगेँ। सायद उहाँकै संरक्षणले होला, मेरो पत्रकारिता यात्रा मजबुत बन्यो।

मैले यस क्षेत्रलाई केवल पेशा होइन, मिशनको रूपमा लिएँ। गुरु लामाले बारम्बार मलाई भन्नुहुन्थ्यो– “निडर भएर सत्य बोल्नुपर्छ।” तर सुरुवातमा म डराइरहन्थेँ।
उमेर कम थियो, अनुभव कम थियो। तथापि, दाजुको साथले मलाई बिस्तारै निडर र जिम्मेवार बनायो। २०७१ सालमा दाजुभाइकै सल्लाहमा “हेल्लो पुनर्वास साप्ताहिक” पत्रिका पुनर्वासबाट प्रकाशनमा ल्यायौँ।
११ वर्षको सहयात्रापछि २०७९ साल पुस ८ गते आफ्नै लगानीमा “विश्व खोज राष्ट्रिय दैनिक” छापा र डिजिटल मिडिया सुरु गरेँ। यसका लागि आदरणीय अङ्कल भक्तराज जोशीको सहयोग र प्रेरणा प्राप्त भयो। तीन वर्ष मिडिया सञ्चालन गर्दा धेरै उतारचढाव आए।
तर सात–आठ जनालाई निरन्तर रोजगारी दिँदै आइरहेँ। मेरो उद्देश्य मात्र बाँच्ने होइन, स्वरोजगार सिर्जना गर्ने थियो। यसै उद्देश्यसहित म विभिन्न व्यक्ति र संस्थासँग सहकार्य गर्दै मिडियाको आर्थिक अवस्थालाई मजबुत पार्न लागिरहेँ। सत्य र निष्पक्ष पत्रकारिताका लागि म सजग थिएँ। तर यो यात्रामा मलाई राजनीति गन्धको भुमरीले छोयो।
म राजनीतिसँग जोडिएँ होला, तर कहिल्यै एकपक्षीय झुकाव देखाइनँ। गल्ती देखे सुधारको मौका दिएँ, ढाकछोप गरेनँ। बरु व्यथितिहरूलाई उठाउन प्रयास गरेँ। तर समाजले सधैँ राम्रो नियत बुझ्दैन रहेछ।
कोही मलाई झोला बोक्ने झोले भन्थे, कोही फेसबुकमै पत्रकारिता सक्थे। तर म आफ्नो मार्गबाट विचलित भएन। सच्चा पत्रकारिताका लागि मैले संघर्ष गरिरहेँ। अन्ततः सञ्चार गृह जोगाउन, केही समय विदेशिन बाध्य भएँ।
वैशाख २९ गते सोमबार मध्यराति मैले आफ्नो जन्मभूमि छाडेँ। मेरी ७१ वर्षीया आमाको आँशु र अँगालोले मन र शरीरलाई रोक्न खोजे पनि, मनको भित्र कतै सञ्चार गृहको आवाज रोक्न सकिनँ।
संचार गृह जोगाउन आमालाई पीडा दिँदै म विदेशिएँ। यो निर्णय एक्लो थियो, साहसिक थियो, र अनिश्चितताले भरिएको पनि। तर जब सामाजिक सञ्जालमा मेरो विदाइको समाचार भावनाले भरिएर आयो, मलाई लाग्यो – मैले समाजका लागि केही त गरेको रहेछु। विदेशमा छु भनेर म मौन बस्ने छैन।
सत्य, निष्पक्षता, व्यथिति, विकृति र भ्रष्टाचारका विरुद्ध मेरो कलम अब झनै धारिलो हुनेछ। विश्व खोज मिडिया मेरो मात्रै होइन, हाम्रो हो भन्ने महसुस अब अझ प्रस्ट हुनेछ।