दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट दार्चुलाका सामुदायिक विद्यालयमा यस वर्ष थप पाँच वटा नयाँ विद्यालय भवन निर्माण भइरहेका छन् । सामुदायिक विद्यालयको शिक्षामा गुणस्तर ल्याउन बलियो संरचनाले समेत सहयोग पुग्ने विश्वासका साथ प्रदेश सरकारले जिल्लाका विभिन्न स्थानीय तहमा नयाँ दुई कोठे विद्यालय भवन निर्माण गरिरहेको सामाजिक विकास कार्यालय दार्चुलाका कार्यालय प्रमुख रामचन्द्र ओझाले जानकारी दिए ।

प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०र८१ मा आठ वटा भवन निर्माण गरेकोमा यस वर्ष थप पाँच वटा नयाँ भवन निर्माण गरिरहेको छ । सामाजिक विकास कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी डम्मप्रसाद जोशीका अनुसार यस वर्ष निर्माण हुने नयाँ भवनको टेन्डर भएर निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको र निर्माणका कामसमेत सुरु भइसकेका छन् । दार्चुलामा यस वर्ष एक छात्रवाससहित पाँच वटा नयाँ विद्यालय भवन निर्माणको काम भइरहेको छ । विगतमा जिल्ला शिक्षा कार्यालयले भवन निर्माण गर्ने गरेकोमा सङ्घीयता स्थापनापछि प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालयले विद्यालय भवन निर्माण गर्दै आइरहेको छ ।

प्रदेश सरकारको एक करोड ७७ लाख लागतमा जिल्लाको नौगाड गाउँपालिकामा एक, अपिहिमाल गाउँपालिकामा दुई शैल्यशिखर नगरपालिकामा एक र महाकाली नगरपालिकामा एक छात्रवास गरेर पाँच वटा नयाँ भवन निर्माण भइरहेका छन् । विगतका वर्षमा उपभोक्ता समितिमार्फत विद्यालय भवन निर्माणको काम हुने गरेकोमा यस वर्ष ठेक्का टेन्डर प्रणालीमार्फत भवन निर्माण हुन लागेका हुन् । नयाँ भवन निर्माणको काम असारभित्रै गरिसक्ने बताइएको छ ।
