महेन्द्रनगर : हल्दुखालका महराको घरबाट चोरीमा संलग्न चार जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर। भीमदत्त नगरपालिका ७ हल्दुखालका केशव सिह महराको घरबाट सुनका गरगहना चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरुलाई चोरीका गरगहना सहित पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।

उनीहरुसंगै चोरीका गरगहना किन्ने दुई जना पनि पक्राउ परेका छन्। निङ्गलाशैनी सुनचाँदी पसलका सञ्चालक नविन पौडेल र इशा पौडेल चोरीका गरगहना किन्ने व्यक्ति हुन्।

चोरीमा संलग्न चार जना भीमदत्त नगरपालिका ४ र ६ का रहेका छन्। पक्राउ परेकाहरूमा राहुल चन्द, अमित खत्री, चक्र सुनार र महेन्द्र नायक छन्। प्रहरीले उनीहरूको हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ।

यो घटना चैत १२ गते महराको घरमा भएको थियो, जहाँ विभिन्न सुनका गरगहना चोरी भएको थियो। प्रहरीका अनुसार, चोरी भएका सामानमा सुनको तिलहरी, मंगलसुत्र, औंठी, काँटा, नागिन माला, चन्द्रमा, गलोबन्द, झुम्का र चाँदीको औंठी समावेश छन्।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमेश राज जोशीका अनुसार, गोप्य सूचनाका आधारमा सबैलाई पक्राउ गरिएको हो।

ताजा समाचार

सम्बन्धित समाचार