कञ्चनपुर। सर्वस्वसहित जन्म कैदको सजाय पाएर कारागारबाट फरार रहेका कैलालीको गोदावरी नगरपालिका–११ का ४८ वर्षीय दिपक बहादुर सिंह १२ वर्षपछि पक्राउ परेका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० गड्डाचौकी क्षेत्रबाट सिंहलाई बुधबार पक्राउ गरेर कैलाली ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले बताए।

सिंह २०६९ साउन २२ गते कैलाली कारागारबाट भागेका थिए। उनी २०६६ असार १० मा हातहतियार मुद्दामा पक्राउ परेका थिए।

गोली प्रहार गरेर सिंहले ०६४ फागुन २४ को राति कैलालीको गोदावरी नगरपालिका–७ का बम बहादुर साउदको हत्या गरेका थिए।
त्यसपछि फरार उनलाई ०६६ असार १० गते हातहतियार खरखजना मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। हातहतियार खरखजना मुद्दामा जेल चलान भएर एक वर्षको सजाय भुक्तान गरिरहेकै अवस्थामा कर्तव्य ज्यान मुद्दामा ०६७ मंसिर २७ मा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो।
०६६ असार ११ गतेदेखि लागू हुने गरी सो सजाय भुक्तान गरिरहेको अवस्थामा ०६९ साउन २२ गते कैलाली कारागारबाट भागेको प्रहरीले जनाएको छ।
यस्तै, सिंह कैलालीको साविकको गोदावरी गाविस ६ का मान बहादुर सुनारको हत्या घटनामा पनि मुछिएका छन्। उनीसहित तेजबहादुर बडैला र मोहन सिंह बडैलाले ०६२ असोज २ गते सुनारको कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दा छ।
कैलालीको धनगढी–१ फुलबारीका सोभान टमटाले सिंहविरुद्ध ०६५ मा अपहरण गरी शरीर बन्धक बनाएको भन्दै जाहेरी दिएका थिए। प्रहरीका अनुसार सिंहविरुद्ध अपहरण तथा शरिर बन्धक मुद्दा पनि छ।
यस्तै,०६९ साउनमा कारागारबाट भागेको र भगाएकोमा सिंहसहित तत्कालीन प्रहरी नायव निरीक्षक लोक बहादुर बोहरा, प्रहरी हवलल्दार गणेश चन्द र दिल बहादुर टमटा उपर मुद्दा दायर भएर हाल कैलाली जिल्ला अदालतमा उक्त मुद्दा मुल्तबीमा रहेको प्रहरीले जनाएको छ।