शुक्लाफाँटामा निःशुल्क आँखा शिविर सञ्चालन

प्रकाशित:

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ मा आयोजित निःशुल्क आँखा शिविरबाट २१७ जनाले लाभ प्राप्त गरेका छन् । वडा कार्यालयको आर्थिक सहयोग र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको हो ।

आँखासम्बन्धी रोगको परीक्षण र उपचारका लागि गरिएको शिविरमा १० महिला र १३ पुरुषमा मोतिया बिन्दु देखिएको छ । शिविरमा मोतिया बिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको थियो, जसका लागि धनगढी नेत्रालयले शल्यक्रिया गर्ने छ । शल्यक्रियाका लागि छनौट भएका बिरामीलाई धनगढीसम्म एकतर्फि गाडी भाडा उपलब्ध गराइने र औषधि तथा चश्मा पनि निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको वडाध्यक्ष रमेशबहादुर ऐरले जानकारी दिनुभयो ।

शिविरमा आँखा जाँचका लागि आएका ३२ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइएको छ भने अन्य बिरामीलाई निःशुल्क औषधि र परामर्श पनि दिइएको छ । वडा कार्यालयले विगत ६ वर्षदेखि निरन्तर निःशुल्क आँखा शिविर आयोजना गर्दै शुक्लाफाँटा–९ का बासिन्दालाई आँखासम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको छ । हालसम्म यहाँ ६ सय भन्दा बढी मोति बिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको वडाध्यक्ष ऐरले थप्नुभयो ।

 

ताजा समाचार

सम्बन्धित समाचार