धनगढीमा झण्डै १४ करोडमा नाला निर्माण गरिँदै

प्रकाशित:

कैलाली। धनगढी उपमहानगरपालिकाको डुबान समस्या समाधानका लागि ६ लेन सडकमा नाला निर्माणको काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका पूर्वभौतिक पूर्वाधार विकास मन्त्री एवं प्रदेस सांसद प्रकाश देउवाले बुधबार नाला निर्माणको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै पूर्वमन्त्री देउवाले यो योजना सम्पन्न पछि यस क्षेत्रको डुवान समस्या समाधान हुने बताए ।  उनले यो योजना २०७९ मा चुनाव लड्दा आफ्नो एजेण्डा भएको बताउँदै यसको शिलान्यास गर्न पाउँदा खुसी व्यक्त गरे । साथै, समयमै सम्पन्न गर्नसमेत उनले निर्माण व्यवसायीलाई आग्रह गरे ।

वर्षातको पानीलाई मोहना नदीमा फाल्न धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ को एरियामा २ हजार ८१५ मिटर लामो नाला निर्माण गर्न २०८१ असार २० गते सम्झौता भएको थियो।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई, धनगढीले चौराहदेखि मोहना नदीसम्म दोहोरो २ मिटर गहिरो र २ मिटर चौडा नाला निर्माण गर्ने गरी सात महिनापछि काम सुरु गरेको हो ।

मोहनापुल-अत्तरिया ६ लेन सडकको पूर्वी क्षेत्रमा १,३६५ मिटर र पश्चिम क्षेत्रमा १,४५० मिटर लामो नाला निर्माण हुनेछ। पूर्व क्षेत्रमा ११ करोड २० लाख र पश्चिम क्षेत्रमा १२ करोडको लागत अनुमान गरिएकोमा एमबी र शुभलक्ष्मीआदर्श जेभी
र सनराइजरचन्द्र विकासरमस्टा जेभीले क्रमशः ७ करोड ४४ लाख ७९ हजार ८९६ रुपैयाँ ८३ पैसा र ६ करोड ५ लाख १ हजार ८३२ रुपैयाँ ५२ पैसामा ठेक्का पाएका छन्।

नाली निर्माण २०८३ वैशाख १६ गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ। नाली निर्माणका लागि च्याम्बरहरू र सफाइ गर्न होलहरू पनि बनाइनेछ। इन्जिनियर पुष्प भट्टका अनुसार, सडक क्षेत्राधिकार खाली भएकाले निर्माण कार्यमा कुनै अवरोध हुने छैन ।

धनगढी उपमहानगरपालिकाले ६ लेन सडकका कारण डुबान समस्या भइरहेको बताउँदै विस्तृत योजना प्रतिवेदन (डिआरपी) तयार गरेको थियो। यो योजना पूरा भएपछि डुबान समस्या समाधान हुने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार