काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओत्सेतुङको विचार र प्रयोगबाट प्रेरणा लिँदै नेपालका कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।
डिसेम्बर २६ अर्थात् माओको जन्मदिनको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनले कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर नेपाली विशेषतासहितको समाजवाद निमार्णका लागि अध्ययन्, अनुसन्धान र प्रयोगमा जुट्न अपरिहार्य दायित्व बनेको उनको भनाइ छ ।अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आज २६ डिसेम्बर, अन्तर्राष्ट्रिय सर्वहारावर्गको महान नेता एवं विचारक क. माओत्सेतुङको जन्म दिन ।
यस अवसरमा हाम्रो पार्टी कमरेड माओत्सेतुङप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । उहाँको जन्मदिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’‘चीनको हुनान प्रान्तको साओसानमा आजकै दिन अर्थात १८९३ डिसेम्बर २६ मा माओत्सेतुङको जन्म भएको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा नयाँ जनवादी गणतन्त्र चीनका संस्थापक कमरेड माआत्सेतुङ संसारभरिका बर्गीय तथा राष्ट्रिय मुक्ति आन्दोलनका प्रेरणाका अजश्रस्रोत हुनुहुनछ’, उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
माओले विकास गरेको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचारलाई नेपालका कम्युनिष्ट पार्टीहरुले मार्गदर्शकको रुपमा लिने गरेको उनी बताउँछन् ।
अध्यक्ष दाहालले नेपाली जनवादी क्रान्तिलाई आफ्नै मौलिकता र विशेषता अनुसार मूलभूत रुपमा पूरा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न संघर्षरत रहेको बताए ।विगतमा सरकारको नेतृत्वमा रहेर शुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान पनि यही राजनीतिक रणनीतिलाई कार्यान्वयन गर्ने एक कार्यनैतिक कदम थियो भन्दै अध्यक्ष दाहालले पनि त्यसलाई कार्यान्वयन गर्न सदन र सडकको मोर्चाबाट खबरदारी गरिरहेको उल्लेख गरे ।