कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

प्रकाशित:

काठमाडौं। मकवानपुरमा भारतीय नम्बरको कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका-१ तिरतिरे धारा नजिक हिजो साँझ कारको ठक्करबाट स्कुटर चालक स्थानीय अन्दाजी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।

हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बिआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

कारको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए।

स्कुटरमा पछाडि सवार २५ वर्षीया बबिता लामा घाइते भएकी छन्। हेटौँडा अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने कार चालक भारतकोबिहार राज्यका २४ वर्षीय सुकर्णप्रताप सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार