डडेल्धुरा। कुनैबेला स्थानीय विद्यालयमा विद्यार्थीलाई पढाइरहेका भेटिने डडेल्धुराका एक शिक्षक अहिले व्यवसायिक किवी खेतीमा रमाइरहेका भेटिन्छन्।
जिल्लाको आलिताल गाउँपालिका-२ लामीटुडाका लक्ष्मण थापा मगर शिक्षण पेशा छाडेर अहिले आफ्नै गाउँमा रहेको ध्रुव कृषि फर्ममा व्यवसायिक रुपमा किवी खेती गरिरेहका छन् ।
२०६१ देखि २०७३ सालसम्म शिक्षक रहेका लक्ष्मण थापा तत्कालीन समयमा बीबीसी नेपाली सेवामा प्रसारण हुने “साझा सवाल” कार्यक्रममा किवी खेतीबारे छलफल सुरु भएपछि यसतर्फ आकर्षित भएका हुन् ।
२०७० सालमा दोलखाबाट ११० वटा किवीको बोट मगाइ सुरु गरिएको उनको फर्ममा अहिले १५ रोपनीभन्दा बढी क्षेत्रफलमा किवी खेती गरिएको छ । २०७३ सालमा पहिलोपटक साढे तिन क्विन्टल किवी उत्पादन भएको उनको बारीमा हाल बार्षिक सरदर ७० देखि ७५ क्विन्टलसम्म किवी उत्पादन हुने गरेको छ ।
सुरुको वर्ष किवी प्रतिकिलो ५००का दरले विक्रि गरेका उनी पछिल्लो समय विक्रि मुल्य घटेपनि उत्पादन धेरै भएकोले आफूलाई खासै फरक नपरेकोे बताउँछन् ।
२०७७ सालदेखि थापाले आफनो फर्ममा नर्सरी निर्माण गरि स्कृनघरमा किविको विरुवा उत्पादन पनि थालेका छन् । प्रत्येक वर्ष अनुमानित ४ हजार थान विरुवा उत्पादन गरि सुदुरपश्चिमका ७ वटै पहाडि जिल्लामा विक्रि गर्ने गर्दछन् ।
सुदूरपश्चिममा भर्खर मात्र उत्पादन सुरु गरिएको किवीप्रति यस क्षेत्रका किसानहरु बिस्तारै आकर्षित हुन थालेका छन् । यस क्षेत्रमा किवी खेतीका बारेमा सिक्न चाहनेको लागी यो फर्म सिकाई केन्द्र हुने रुडुक डडेल्धुराका कार्यकारी निर्देशक अमरबहादुर साउँद बताउँछन् ।
ध्रुव कृषि फर्ममा हुर्किदै गरेका १७५ वटा नयाँ किवीका विरुवा हरुले अर्को वर्ष बाट फल दिन सुरु गर्नेछ । पछिल्लो समय सरदर ७० देखी ७५ कुईन्टल सम्म किवि उत्पादन भएको उनको फर्ममा अर्को वर्ष बाट अनुमानित १५० कुईन्टल सम्म उत्पादन हुनेछ ।
हाल विरुवा र फलबाट बार्षिक १० लाख भन्दा बढी आम्दानी गरिरहेका लक्ष्मण थापा मगर आउदो वर्ष बाट आमदानीमा बृद्धि हुने कुरामा ढुक्क छन् । आफ्नो उत्पादन सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै काठमाण्डौ सम्म पठाइरहेका थापा लाई हाल साहुखर्कबाट ६ किलोमिटरको दुरीमा रहेको फर्मसम्म सडक पुगेपछि ढुवानीको चिन्ता पनि कम भएको छ भने किवी खेतीले आफूलाई सन्तुष्ट बनाएको लक्ष्मण थापा मगर बताउँछन् ।
आफू बिदेश नगए पनि विदेश गएर फर्केका साथीभाईहरुको दुस्ख सुन्दा स्वदेशमै अवसरको खोजी गर्नसके राम्रो भन्ने लक्ष्मण थापा मगरको भनाईलाई आत्मसाथ गर्दै व्यवसायिक रुपमा फलफुल र गैर परम्परागत व्यवसायतर्फ युवाहरु लाई आकर्षित गर्न सके पछिल्लो समय बढ्दै गएको युवा पलायनको दरलाई रोक्न सकिन्थ्यो की ?