के हो टिकटकर आयुष र आमा नानुबीचको विवाद ?

प्रकाशित:

काठमाडौँ। टिकटकर आयुषसिंह ठकुरी र उनकी आमा नानुसिंह ठकुरीबीचको विवाद सोसल मिडियामा भाइरल छ ।

विगतलाई लिएर उनीहरूबीच सोसल मिडियामै भनाभन भइरहेको छ । विवादबारे अरुले पनि पक्ष र विपक्षमा कमेन्ट गरिरहेका छन् ।

कसैले आयुषलाई गलत भनिरहेका छन् भने कतिपयले नानुसिंहलाई दोष लगाइरहेका छन् ।

के हो विवाद ?

नानुसिंह ठकुरी सशस्त्र प्रहरीकी पूर्वजवान हुन् । उनका एक्ला छोरा हुन् टिकटकर आयुष । नानु सिङ्गल मदर हुन् । केही दिनअघि उनले आफ्नो युट्युुब च्यानलमार्फत आफूले भोगेको कथा भन्दै विगत वृत्तान्त भनेकी थिइन् । त्यसमा उनले माइती पक्षबाट आफूले दुःख पाएको बताएकी थिइन् ।

नेपालमा आर्थिक संकट भएपछि आफूले यूएईमा सुरक्षा गार्ड बनेर काम गरेको पनि खुलाएकी थिइन् । छोरा आयुषलाई निकै दुःख गरेर पढाएको, अनेक गरेर उनका चाहना पूरा गरिदिएको उनको भनाइ थियो । नानुले आफ्ना दाजुभाइ र आमाले आफूमाथि अन्याय गरेको गुनासो गरेकी थिइन् ।

सानैदेखि मावमाघर बसेर हुर्केका आयुषले आमा नानुको जवाफ टिकटकमार्फत नै दिए । उनले मामा र हजुरआमामाथि दोष नथोपर्न भनेका थिए । मामा र हजुरआमाको भन्दा पनि आफ्नै आमातिर केही प्रश्न तेर्स्याएका उनले आफूलाई आमाको साथ चाहिएको बेला टाढिएको, अर्को विवाह गरेर बच्चा पाएको, जग्गाको विषयमा मुद्दामामिला गरेको गुनासो गरे ।

फेरि त्यसको प्रतिजवाफ नानुसिंहले टिकटक, युट्युबमार्फत नै दिएकी थिइन् । उनले आफूलाई हुनेवाली बुहारी अलिजेले समेत दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । छोरा आयुषको जन्मदिनमा अलिजेले भेट्न नदिएको नानुसिंहको आरोप थियो ।

यसपछि आमा–छोराबीचको भनाभनमा पाकिस्तानी अलिजे जमाली पनि परेकी छन् । एक भिडियोमा आयुषसँग देखिएकी उनी भावुक बनेकी छन् ।

आयुषकी आमा नानु केही सौन्दर्य प्रतियोगिताकी सहभागी पनि हुन् । यसअघि उनले मिडियामा छोरा आयुषबारे सकारात्मक नै कुरा गर्थिन् । आयुषले पनि आमाको प्रसङ्ग आउँदा आलोचना वा गुनासो गरेका थिएनन् ।

तर, पछिल्लो समय एकपछि अर्को भिडियोमा उनीहरू एकअर्काप्रति कडा बन्दै गएका छन् । र, आमाछोराको विवादमा अरु मान्छेले टिकाटिप्पणी गरी यसलाई सनसनीपूर्ण बनाएको पनि देख्न सकिन्छ । यसबारे टिकटक, युट्युबमा विश्लेषण हुनेदेखि आमा–छोरालाई सुझाव दिनेसम्मको काम भइसकेको देखिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार