टिङ्कर सडकका लागि बजेट थपिने निर्णय, निर्माण कार्य तीव्र बनाइने

प्रकाशित:

दार्चुला । महाकाली कोरिडोर अन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडकको रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल नेतृत्वको टोलीले निरीक्षण अवलोकन गरेको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत आएको टोलीमा मन्त्रीद्वयसँगै नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देललगायत सरकारी अधिकारीसमेत रहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।
सामरिक महत्वको टिङ्कर सडक निर्माणमा लक्ष्य अनुसार प्रगति हुन नसकेको गुनासो बढेका बेला मन्त्री नेतृत्वको टोली बुधबार निरीक्षण गरेर फर्किएको हो ।

दार्चुलाका प्रजिअ जोशीका अनुसार टिङ्कर सडक निरीक्षणपछि अहिले महाकाली कोरिडोर अन्तर्गत रहेकोमा दार्चुला–टिङ्कर सडकलाई छुट्टै आयोजना बनाएर आवश्यकता अनुसार थप बजेट विनियोजन गरेर पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने निर्णय भएको छ ।
“अहिले सडकको ट्र्याक खोल्ने कामलाई निरन्तरता दिने निर्णय भएको छ,” उहाँले भन्नुभयो, “चिसो घटेपछि चैत–वैशाखदेखि छाङरु–टिङ्करमा समेत मेसिन प्रयोग गरेर दुवैतर्फबाट सडक निर्माण गर्ने तयारी छ । आवश्यक बजेट व्यवस्थापन गरेर अबको पाँच वर्षमा टिङ्करसम्म सडकको ट्र्याक निर्माण गरिसक्ने मन्त्रीद्वयले प्रतिबद्धता जनाउनुभएको छ ।”
टिङ्कर सडक आयोजनाका लागि चालु आर्थिक वर्षमा सरकारले नौ करोड रुपियाँ बजेट मात्रै विनियोजन गरेको छ । सो रकमले १.८ किलोमिटर नयाँ ट्र्याक खोल्ने र १.२ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य सेनाको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताउनुभयो ।

थोरै बजेट भएकाले चाहेर पनि धेरै काम गर्न नसकिएको उहाँको भनाइ छ । “यो सडक कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म ४२५ किलोमिटर लामो छ । यसमा सडक विभागले बनाउन नसकेको अप्ठ्यारो खण्ड तुसरपानी–टिङ्करमा ७९ किलोमिटर सडकको काम नेपाली सेनालाई दिइएको छ । यही गतिमा सडक बनाउने हो भने निर्माण सम्पन्न गर्न वर्षौं लाग्छ,” उहाँले भन्नुभयो, निर्माण कार्य छिटो सक्न पर्याप्त बजेट र उपकरण बढाउनु पर्छ ।

त्यो हुन सकेको छैन । पर्याप्त बजेट भए तोकिएकै समयमा काम सक्न समस्या नहुने उहाँको भनाइ छ ।”
सरकारले निर्माणको जिम्मेवारी दिएपछि नेपाली सेनाले २०७७ माघ २८ गतेबाट दार्चुला–टिङ्कर सडक निर्माण थालनी गरेको हो । सेनाले तुसारपानी–टिङ्करको ट्र्याक खोल्नुपर्ने ७९ किलोमिटर भए पनि हालसम्म १३.५९ किलोमिटर ट्र्याक मात्रै खुलाइएको छ ।

हरेक वर्ष सडक निरीक्षणका क्रममा बजेट तथा जनशक्ति र उपकरण थप गर्ने प्रतिबद्धता जनाए पनि सरकारले बजेटमा टिङ्कर सडकलाई प्राथमिकतामा नराखेको स्थानीय मदनसिंह कुँवरले बताउनुभयो । अहिलेकै गतिमा काम गर्दा दसकौँ लाग्ने भएकाले टिङ्कर सडकमा पर्याप्त बजेट थपेर प्राथमिकताका साथ निर्माण कार्य गर्नुपर्ने स्थानीयको माग छ ।

यो सडक नबन्दा सर्वसाधारणले सदरमुकाम दार्चुलाबाट आफ्नै देश छाङरु, टिङ्करलगायत ठाउँ जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । अहिले पनि टिङ्करका स्थानीय भारतीय बाटो हुँदै खलङ्गा बसाइँ सरेका छन् । नेपालतिर हिँड्नलाई समेत राम्रो घोरेटो बाटो नरहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले बताउनुभयो ।

ताजा समाचार

सम्बन्धित समाचार