कञ्चनपुर। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहीजाँत’ लागेको छ।
उग्रतारामा शुक्रबार रतेडी र आज दिउसेडी मेला लागेको हो। उग्रतारामा लागेको मेला भर्न सुदूरपश्चिमका सबै ९ जिल्ला, कर्णाली प्रदेश र भारतबाट पनि दर्शनार्थीहरू पुग्ने गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा परराष्ट्रमन्त्री डा। आरजु राणा देउवा पनि मेलामा सहभागी भएका छन् । देउवा दम्पतीले मेलामा पूजाआजा पनि गरेका छन्।
मन्त्री आरजु शुक्रबार गृहजिल्ला डडेल्धुरा पुगेकी थिइन्। केही दिन अघि नै गृहजिल्ला पुगेका पूर्वप्रधानमन्त्री देउवा भने डडेल्धुरामा धार्मिक स्थलको दर्शन र कार्यकर्ता भेटघाटमा छन्।
किम्बदन्तिअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको विश्वास छ।
सोही दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको बताइन्छ।