कञ्चनपुर। बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका ५० वर्षीय वीरेन्द्र बोहरा बिहिबार बेलुका मालिकार्जुन जात्रा हेर्न त्यसतर्फ गए। साथमा उनका भतिजा १५ वर्षीय सुदिप बोहरा पनि थिए।
दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ मालिकार्जुन मन्दिरको रात्रि जात्रामा उनीहरु सामेल भए। बिहान घर फर्कन काका भतिज मन्दिर नजिकै म १ ज ३३८ नम्बरको जिपमा चढे।
तर उनीहरु घर पुग्न पाएनन्। जिप दुर्घटनामा काका भतिजले घटनास्थलमै ज्यान गुमाए। डिलाशैनी गाउँपालिका–५ का अध्यक्ष यज्ञराज भट्टका अनुसार शव अहिले गोकुलेश्वर अस्पतालमा छ। पोष्टमार्टम पछि दाहसंस्कार गरिने उनले बताए।
एकै परिवारका दुई जनाको दुर्घटनामा ज्यान गएपछि गाउँ नै शोकमा डुबेको वडाध्यक्ष भट्टले बताए।
शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ बकजेबलामा भएको जिप दुर्घटनामा उनीहरुसहित ८ जनाको मृत्यु भएको छ। अन्य ४ जना घाइते भएका छन्।
घाइतेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ।