दार्चुला। राष्ट्रको सातौँधाम मालिकार्जुन मन्दिरमा बिहीबार राति रात्रीकालीन जात्रा लाग्ने भएको छ । कार्तिक शुक्ल चतुर्दशीका दिन मालिकार्जुन धाममा लाग्ने यो जात्रालाई जिल्लाकै ठूलो जात्राका रुपमा लिइन्छ ।
जिल्लाको प्रमुख धार्मिकस्थल मालिकार्जुन मन्दिरको रात्रीकालीन जात्रा दर्शन गर्न सुदूरपश्चिमभर तथा मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यका मानिसहरु आउने गरेका छन् ।
मालिकार्जुनको रात्रीकालीन जात्रा र शिखर धुरा पुजन जात्राका लागि बुधबारदेखि नै मानिसहरु मालिकार्जुन पुगेका र रात्रीकालीन जात्रा दर्शनका लागि मानिसहरु आउने क्रममा जारी रहेको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
रात्रीकालीन जात्राको अघिल्लो दिन अर्थात् कार्तिक शुक्ल त्रयोदशीका दिन शिखर धुरामा पूजन जात्रा लाग्ने गर्दछ । आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषले एक महिना अर्थात् १५ दिन अगाडिदेखि नै शुद्ध भएर एक छाक खान खाएर पवित्र मनले शिखर जात्राको यात्रा गर्नुपर्ने धार्मिक मान्यता रहेको छ ।
रात्रीजात्राको समेत आवश्यक तयारी पुरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । जात्रा अवधिभर उक्त क्षेत्रमा मदिरा सेवन, बिक्री, बितरण, जुवा तास खेल्न खेलाउन पुर्णतया रोक लगाइएको छ ।
जात्रा अवधिभर मदिरा तथा जुवातास पूर्णरुपमा निषेध गरिएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कार्तिक २६ गतेदेखि ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवन नगर्न र नगराउन आग्रह गरेको छ ।
जात्रा हुने भूगोललाई मध्यनजर गर्दै त्यस क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक डीएसपी प्रकाश दाहालले बताए ।
उनका अनुसार जात्रामा मदिरा सेवन गरी होहल्ला गर्ने र सेवन गरेकाहरुलाई नियन्त्रणमा लिइ कडा कारबाही गरिनेछ । लागूऔषध तथा मदिराजन्य पदार्थलाई मध्यनजर गर्दै प्रहरीले पसलहरुमा खोजतलास र निगरानी गर्नुका साथै नागरिकका झोलासमेत चेकजाँच गर्ने जनाएको छ ।
शंकास्पद महिला तथा पुरुषका झोला चेकजाँच गरी यद्यपि मदिरा तथा लागुपदार्थ भेटिएमा कडा कारबाही गरिने बताइएको छ । रात्रीकालीन जात्रालाई व्यवस्थित गर्न अढाई सय सुरक्षाकर्मी खटाईने प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोशाकका अन्य सुरक्षाकर्मी पनि परिचालन गरिने छ ।